प्रमाण र तथ्यका आधारमा देशको नीति बनाउनुपर्छः सभामुख घिमिरे


काठमाडाैँ ।सभामुख देवराज घिमिरेले प्रमाण र तथ्यका आधारमा देशको नीति बनाउन आग्रह गरेका छन् ।

बिहीवार काठमाडौँमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले संघीयताको नौलो अभ्यास गरिरहेको नेपालमा प्रमाण र तथ्यका आधारमा नीति बनाउन जरुरी रहेको बताए । उनले संघीयताबारे भएका बहस पनि भावनामा नभइ तथ्यका आधारमा हुनुपर्ने बताए ।

उनले नीति प्रतिष्ठानको अध्ययन, अनुसन्धान र सुझाव अहिले मुलुकले माग गरिरहेको बताए । उनले मुलुकका नीति कुनै एक सरकारका लागि मात्रै नभइ सिंगो राष्ट्रका लागि हुनुपर्ने बताए । उनले एउटा सरकारले बनाएको नीति अर्को सरकार आउने बित्तिकै तोडिने परम्परा सुखद् नरहेको जिकिर गरे ।

उनले संसदले बनाउने कानूनको मस्यौदा बनाउँदासमेत प्रतिष्ठानका सहभागिता र सहकार्य अपरिहार्य रहेको भन्दै संघीय संसद सचिवालयले प्रतिष्ठानसँग सहकार्य गर्न प्रारम्भ गरिरहेको उल्लेख गरे । उनले आगामी दिनमा पनि मुलुकको कानून निर्माण गर्ने संसद र नीति निर्माणका सुझाव दिने प्रतिष्ठान बीचमा हातेमालो हुनु अनिवार्य रहेको बताए ।

सभामुख घिमिरेले मुलुकको नीति बनाउन सहयोग गर्ने महत्वपूर्ण र गहन कार्यक्षेत्र भएको प्रतिष्ठानलाई सरकारले आर्थिक बोझको रुपमा लिनु नहुने बताए । संघीयताको सबलीकरण, आर्थिक सशक्तिकरण, कृषि, व्यापार तथा लगानी, वैदेशिक नीति, पर्यटन नीति, वातावरण, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रको नीति निर्माणमा योगदान दिन प्रेरित गर्नुपर्ने बताए ।