आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त छन्ः पूर्वअर्थमन्त्री खतिवडा


काठमाडाैँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहर अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताएका छन् ।

बिहीवार काठमाडौँमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले विकासको परिभाषा नै परिवर्तित भइसकेको भन्दै आर्थिक वृद्धिलाई मात्रै विकास भन्न नमिल्ने तर्क गरे ।

उनले अहिले दिगो विकास र  दिगो विकासको सामाजिक र आर्थिक पक्ष तथा वातावरणीय पक्ष समेत विकासको परिभाषासँग जोडिएको बताए । उनले समृद्धिको बाटो अलि लामो रहेकाले सही बाटोमा हिँडिरहेका छौँ की छैनौँ भनेर सोच्नुपर्ने बताए । उनले प्रस्थान बिन्दु नै गलत भएको खण्डमा लक्ष्यसम्म नपुगिने भन्दै समृद्धिको मार्गमा जानका लागि कतिपय नीतिहरू मिलाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले कतिपय नीतिगत कुराहरू अपर्याप्त रहेको महशुस सबैले गरेको भन्दै भएका नीतिहरुले परिणाम दिन नसक्ने बताए । समृद्धि भनेको आर्थिक, सामाजिक र मानवीय विकास मात्रै नभइ त्यो भन्दा पनि बढी हुनु रहेको उल्लेख गरे । शान्तिपूर्ण समाज सामाजिक, आर्थिक रूपले बलियो र शान्त एवं सद्भावपूर्ण हुनु र भौतिक विकासका दृष्टिकोणले सुविधा सम्पन्न र सुखसँग नागरिकले बस्न पाउने हुनु नै समृद्ध नेपाल र सुखी नेपाली हुने बताए ।

पूर्वअर्थमन्त्री खतिवडाले विषादी र रासयनिक मलको कम प्रयोग गरी उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेको बताए ।