मूल्यमा एकरुपता ल्याउन होटल व्यवसायीहरू सहमत


काठमाडाैँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७ असोजमा गरेको बजार अनुगमनका क्रममा काठमाडाैँस्थित १७ होटलमा छापा हान्दै १ होटललाई ३ लाख रुपयाँ जरिवाना तिराएको थियो ।

उक्त कारबाहीपछि होटल व्यवसायीहरूका संगठन र उद्योग वाणिज्य संघ लगायतको ध्यानाकर्षण भयो । संगठनहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कारबाही विरुद्ध ज्ञापनपत्र समेत पेस गरे । बिहिबार भने व्यवसायीहरूको प्रतिनिधिमण्डल उद्योग मन्त्री दामोदर भण्डारीलाई भेट्न पुग्यो । उनीहरूकाे माग व्यापारीलाई कारबाहीबाट जोगाउन र जरिवाना गरिएको रकम फिर्ता गर्नुपर्ने सम्मको थियो ।

तर उक्त प्रतिनिधिमण्डललाई मन्त्री भण्डारीले व्यापारिक क्षेत्रमा भैरहेको अनियमितता रोक्नमा साथ दिन आह्वान गरेपछि प्रतिनिधिमण्डल सहमत हुदैँ फिर्ता भयो । मन्त्री भण्डारीले व्यवसायीका संगठनलाई बजार अनुगमनमासँगै हिड्न आग्रह गर्दै व्यवसायीले गल्ती नगरेमा बजार अनुगमन नै नगर्ने समेत बताए ।

“हामी अहिले कोहि व्यवसायी, कोहि ग्राहक, कोहि सरकारका प्रतिनिधि, जेसुकै भएपनि सबभन्दा पहिला हामी सबै उपभोक्ता हौँ, स्वस्थकर खाद्य सामग्री हामिले उपयुक्त मुल्यमा पाउनुपर्छ । तर काठ्माण्डौँका केहि रेस्टुरेण्टले असुल्दै आएको मुल्य अत्याधिक छ, त्यो गर्न पाइदैन् । २२ रुपयाँ पर्ने पानिको बोतल १सय रुपयाँमा बिक्रि गर्दा कारवाहि नगरेर के गर्ने ? होटलैपिच्छै फरकफरक मुल्यसूचि रहेकाछन्, यसमा एकरुपता ल्याउनुस्, गुणस्तरिय सामग्री उचित मुल्यमा उपलब्ध गराउनुस् हामी अनुमगन गर्न छाडिदिन्छौँ,”उनले भने ।

मन्त्री भण्डारीले व्यवसायीका संगठनहरूले उपभोक्ताको हितमा वकालत गर्न आग्रह गरेका छन् । उनले महंगी अनुसारको सुविधा होटलहरूले नदिएकोले सुधार गर्नुपर्ने बताए । हाेटलमा कामगर्ने कर्मचारीले समयमै उचित तलव नपाएको प्रयाप्त गुनासो आफुसँग आउने गरेको उनको भनाई छ ।

एकै स्तरका होटल तथा रेष्टुरेण्टमा मुल्यमा पनि एकरुपता हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ ।उनले पाँच तारे होटलहरू, रेष्टुरेण्टहरू र खाजाघरहरूमा पाइने सामग्रीको स्तर हेरेर मात्रै मुल्य निर्धारण गर्नुपर्ने बताए । यस बिषयमा व्यवसायीहरू सहमत भएका छन् ।

व्यवसायीक क्षेत्रका व्याक्तिहरू एकै बैठकमा बसेर मुल्य निर्धारण गर्न सहमत भएका छन् । होटलको स्तर अनुसार मुल्य निर्धारण गर्ने र जसको जानकारी सरकारलाई गराउनमा व्यवसायी सहमत भएका हुन् । जसका लागि छिट्टै बैठक बोलाउने सहमती भएको छ । मन्त्री भण्डारीले एकै स्तरका होटलमा फरक–फरक मुल्यसूचि देखाउदैँ व्यवसायीलाई छलफलका लागि आह्वान गरेका थिए।