काठमाडौँ उपत्यकामा बाढी र पहिरोको वितण्डा: २३ जनाको मृत्यु, ९१८ काे उद्धार


काठमाडाैँ । अविरल वर्षाले काठमाडौँ उपत्यकामा बाढी, पहिरो र डुबानको त्रास फैलिएको छ । जसले २३ जनाको ज्यान लिएको छ। बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण शनिबार १२ बजेसम्म काठमाडौँ उपत्यकामा मृत्यु हुनेको संख्या २३ पुगेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ५ जनाको बाढी, पहिरो, र घर भत्केर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। यसैबीच, ११ जना घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही अझै बेपत्ता छन्।

प्रहरीले बाढीबाट प्रभावित ९१८ जनाको उद्धार गरिसकेको जनाएको छ। उद्धार कार्यमा नेपाल प्रहरीको ठूलो संख्यामा परिचालन गरिएको र प्रभावित क्षेत्रमा तिव्र गतिमा उद्धार प्रयासहरू जारी रहेको जानकारी दिएको छ।

अविरल वर्षाले पुर्याएको जनधनको क्षति अझै पनि थप हुन सक्ने भन्दै अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छ ।