बाढी र पहिरोको प्रकोप: तीन ठूला जलविद्युत् आयोजनामा उत्पादन बन्द


काठमाडौँ । गत शुक्रबारदेखि भएको अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजनाहरूमा गम्भीर क्षति पुगेको छ। बागमती नदीको बाढी र कुलेखानीको ड्यामबाट बगाएको पानीले ८६ मेगावाटको साहस ऊर्जा, २२ मेगावाटको माण्डु खोला र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजनाहरूमा विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गराएको छ।

माण्डु हाईड्रोपावर लिमिटेडले एक विज्ञप्ती नै जारी गरेर हाल विद्युत उत्पादन रोकिएको जानकारी गराएको छ। कम्पनीका अनुसार गत आश्विन ११ गते परेको भिषण वर्षाले बागमती खोलामा आएको बाढी र पहिरोले पावर हाउस र हेड बक्समा क्षति पुर्‍याएको छ।

यस घटनाका कारण प्लान्टको संञ्चालन पूर्ण रूपमा अवरुद्ध भएको र स्थिति कम्पनीको नियन्त्रणभन्दा बाहिर रहेको बताइएको छ। त्यस्तै तल्लो हेवाखोला आयोजना पनि बाढीका कारण ठप्प भएको छ। हेवाखोलामा निर्माण गरिएको पुल बाढीले बगाएको छ, यो पुल गत वर्ष पनि बगाएको थियो।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इप्पानका महासचिव बलराम खतिवडाले हालसम्म तीनवटा आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको र थप विवरण आउन बाँकी रहेको बताए ।