अपर तामाकोशी क्षतिले सुख्खायाममा विद्युत आयात बढ्न सक्ने: कुलमान घिसिङ


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खायाममा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

आइतवार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले ४५६ मेगावटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडबक्सको कन्ट्रोल विल्डिङ पूर्णरुपमा ध्वस्त भएको बताएका हुन् । उनले अहिलेसम्म आयोजनामा भएको क्षति यकिन गर्न नसकिएको बताए ।

घिसिङले विद्युत क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीसहित चार जना बेपत्ता भएको बताए । उनले अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पुनःनिर्माण गर्न नसके यस वर्षको सुख्खायाममा विद्युत व्यवस्थापनमा केही समस्या आउनसक्ने बताए । उनले क्षति पुगेका जलविद्युत आयोजनाहरुमा छिटो भन्दा छिटो रि स्टोर गर्ने तयारीमा प्राधिकरण लागेको बताए । उनले बाढीको कारण कावेली करिडोरको तीन वटा टावरमा क्षति हुँदा २ सय मेगावटको पूर्वाअञ्चलमा आउने लाइन बन्द भएको पनि बताए ।

उनले कावेली करिडोरबाट तीन सवस्टेशन इलाम,फिदिम र ताप्लेजुङ विद्युत सप्लाई हुने लाइन पनि बन्द भएको पनि बताए ।उनले खिम्ति लामासाँधु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको भन्दै त्यसलाई बनाउन जाने कुनैपनि पहुँच मार्ग नभएकाले समस्या भइरहेको बताए । उनले खिम्ति लामासाँधु आउने ट्रान्समिसन लाइन पनि एकहप्ताभित्र बनाउने बताए ।

उनले खिम्तिदेखि ढल्केवर २२० केवी लाइनले करिव ८ सय मेगावट पावर सप्लाई गर्ने टावरतिर तामाकोशी नदी बगिरहेकाले खतरामा रहेको बताए ।