काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भएको छ।आइतबार कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले यसको अवधारणा पारित गर्दै मिति तय गरेको हो।
प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा ओैद्योगिक वातावरण बनेको सन्देश दिन पहिलो पटक प्रदेशमा लगानी सम्मेलन गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रदेश लगानी प्राधिकरणले यसको आवश्यक समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने छ। प्रदेश सरकारले यो कार्यक्रम सम्पन्न गर्न करिब ३ करोड बजेट छुट्याएको छ।
लगानी सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ। प्रदेशका सम्भावित आयोजनाको क्षेत्र पहिचान गरी ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघ र स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने छ। साथै प्रदेशले गर्नुपर्ने कानून संशोधन तत्कालै गर्ने तयारी सरकारको छ।
प्रतिक्रिया दिनुहोस्