काठमाडाैँ । काठमाडौँका सुकुम्वासी बस्तीका बाढी पीडितहरूले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन् ।
सोमवार बिहान काठमाडौँका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरूले आफूहरूलाई पीडा पर्दा पनि काठमाडौँ महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन् । उनीहरूले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे ।
काठमाडौं महानगरपालिकाले गरिवलाई उठिवास लगाउने काम मात्रै गरिरहेको उल्लेख गर्दै स्थानीय दलमर्दन कामीले सरकारले आफूहरुको पीडालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए । । कतैबाट पनि केही सहयोग नआएको अवस्थामा आफूहरुको खाने, बस्ने लगायतका व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाई थियो ।
पीडितहरूले सरकारले सेवा सुविधा दिने कुरा सुनिएपनि हालसम्म नपाएको पनि बताएका छन् । वडाले खाना खुवाउने काम गरेको भएपनि अन्य सुविधा केही पनि नपाउँदा समस्या भएको उनीहरूको भनाई थियो । सरकारले आफूहरूको खाने, बस्ने, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था मिलाए सो सुकुम्वासी बस्ती छोड्न आफूहरु तयार रहेको स्थानीय हरिमाया जिम्बाले बताए ।
अविरल वर्षासँगै काठमाडौँ उपत्यकाका खोला किनाराका बस्तीहरूमा पनि ठूलो जनधनको क्षति भएको छ । तर पीडितलाई राहत दिने काममा भने सरकारले कुनै चासो नदिएको पीडितहरूको गुनासो छ । उनीहरुले तत्काल राहतका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्