काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन् ।
बुधवार सिंहदरबारस्थिति अर्थमन्त्रालयमा नेपाल व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिवद्धता अनुरुप नै निरन्तर रूपमा भुक्तानी भइरहेको बताएका हुन् ।
उनले अहिले पनि प्रक्रिया पूरा गरेर आएका निर्माण व्यवसायीहरूको भुक्तानी नरोकिएको दाबी गरे । उनले निर्माण व्यवसायीहरूले पाउनुपर्ने सबै दायित्व नपाएको स्वीकार गरे । उनले निर्माण सम्पन्न भएका कामको भुक्तानीको लागि बजेट कार्यान्वयनको बुँदा ५० ले व्यवस्था गरेअनुसार भुक्तानीलाई निरन्तरता दिने बताए ।उनले निर्माण व्यवसायीहरूले सरकारबाट पाउनुपर्ने भुक्तानी दशैँअघि नै गर्ने प्रयासमा रहेको बताए ।
उनले चालु आर्थिक वर्षको बजेटबाट गत वर्षको दायित्वका योजनाहरुको विषयमा व्यवसायीहरूले चिन्ता गर्नु नपर्ने बताए । उनले संसदले पास गरेका आयोजनाको बजेट विगतको भुक्तानीका निम्ति गएको विषयमा आयोजना अघि बढाउने अन्य उपायहरु रहेको बताए । उनले वैकल्पिक स्रोतसहित सरकारले निर्णय गरेको हुनाले आयोजनाहरू जारी रहने बताए ।
उनले विपद्को कारण निर्धारित समयमा आयोजनाहरु सम्पन्न नहुने भएकाले आयोजनाको म्याद थप्नुपर्ने सुझावलाई सरकारले ग्रहण गर्ने बताए । उनले जलवायु परिवर्तनको असर देखिएकाले वर्षाको कारण धेरै ठूलो क्षति भएको बताए । उनले अब प्राकृतिक विपद्को पूर्वअनुमान गरेर त्यसलाई सामना गर्नसक्ने संरचना निर्माणमा ध्यान दिन आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्