अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग (सूचीसहित)


काठमाडाैँ । असोज ११ र १२ गते परेको लगातारको भारी वर्षाले नेपालका मुख्य राजमार्गहरूमा गम्भीर क्षति पुर्याएको छ, जसका कारण विभिन्न ठाउँमा यातायात अवरुद्ध भएको छ। प्रभावित राजमार्गहरूमा अहिले पनि यातायात सुचारु हुन सकेको छैन भने सम्बन्धित निकायहरूले तीव्र रूपमा सुधार कार्यहरू अगाडि बढाइरहेकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले उपलब्ध गराएकाे तथ्याङ्क अनुसार अरनिको राजमार्गको लार्चा–कोदारी खण्डमा लिपिङ पुल र लार्चाको बेलिब्रिज बगाएकाले यातायात पूर्ण रूपमा रोकिएको छ। यस खण्डमा लार्चामा ह्युम पाइप र पेनस्टक पाइप राखेर तथा लिपिङमा बेलीब्रिज जडान गरी सवारी आवागमन खुलाउने योजना रहेको छ।

त्यस्तै, बिपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा करिब १२ किमि सडक पूर्ण रूपमा बगेको छ, जसले गर्दा सवारी साधनहरू बिच-बिचमा रोकिएका छन्। पहिरो हटाउने कार्य तीव्र रूपमा भइरहेको छ भने रोशी खोलाको पानीको बहावलाई ध्यानमा राखी सम्भव भएसम्म अस्थायी रूपमा यातायात सुचारु गरिने बताइएको छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गको दोलालघाट–राकथुम खण्डमा पहिरोका कारण सडक भत्किएपछि दुवै तर्फबाट पहिरो हटाउने काम भइरहेको छ। विभागले यस मार्गबाट सवारी साधनलाई वर्दिबास हुँदै बिपी राजमार्गबाट काठमाडौँ प्रवेश गराउने योजना बनाएको छ।

कान्ति राजपथको घपेली–बगुवा खण्डमा पहिरोको असरका कारण १३ किमि क्षेत्र प्रभावित भएको छ। मकवानपुर र ललितपुर दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको र बागमती पुलको एप्रोच छिटो भन्दा छिटो निर्माण गरिने तयारीमा छ।

मेची राजमार्गको रमिते–फिदिम खण्डमा पुलको एप्रोचमा क्षति पुगेको छ भने रमिते डाँडामा पहिरो हटाउने काम भइरहेको छ। हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी गराए ।

सडक विभागका अनुसार असोज १२ गतेदेखि नै प्राविधिक, जनशक्ति, र उपकरण परिचालन गरी क्षतिग्रस्त सडक खण्डहरूलाई चाँडोभन्दा चाँडो सुचारु गर्न प्रयास गरिरहेको छ। अविरल वर्षाको कारण उत्पन्न बाधाहरू हटाउने कार्य तीव्र गतिमा अगाडि बढाइएको छ, जसले यातायात सुचारु हुने अपेक्षा गरिएको छ ।