उपभोक्ताको गुनासोः महँगो दसैँ,हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ


काठमाडाैँ । दसैँ लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरूकाे चहलपहल सुरू भएको छ । काठमाडौँ उपत्यकाका मुख्य बजारमा दसैँको लागि किनमेल गर्न उपभोक्ताहरू बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ । तर व्यापारीहरूले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्दै आएका छन् ।

उनीहरू बजारलाई दशैँ नलागेको बताइरहेका छन् । काठमाडौँ उपत्यकाका मुख्य बजार असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरूको चहलपलह देखिन थालेको छ । तर उपभोक्ताहरूले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरे । हरेक वर्ष चाडपर्व आएसँगै बजारमा जुत्ता,चप्पल,कपडा लगायतका समानको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेको बताए ।

असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका मुख्य बजारमा दशैँका लागि किनमेल गर्न आएका सर्वसाधरणले सोच भन्दा बजार महँगो रहेको प्रतिक्रिया दिएका छन् । व्यवसायी तथा व्यापारीहरूले पनि गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको भन्दै उपभोक्ताको पहुँच भन्दा महँगो भएको स्वीकार गरेका छन् । काठमाडौँको रानीवनबाट असनमा किनमेल गर्न आउनुभएका पूर्णचन्द्र भट्टले विगत वर्षको तुलनामा बजार धेरै महँगो भएको बताए ।

उनले महिला,पुरुष तथा बालबालिकाले लगाउने कपडा पसलहरुमा मूल्य सूचीहरु समेत नभएको बताए । उनले सरकार सबै व्यवसायी दर्ता र वस्तुको मूल्यसूची राख्ने व्यवस्था गर्नुपर्ने बताए । उनले पसलमा मूल्यसूचि नहुँदा व्यापारीहरुले जति भने पनि हुने अवस्था देखिएको उल्लेख गरे । उनले पसलैपिच्छे एउटै समानको मूल्य फरक–फरक भन्ने गरेको बताए । उनले ग्राहकले व्यापारीसँग बार्गेनिङ गरिरहनुपर्ने अवस्था बजारमा रहेको बताए ।

अर्को काठमाडौँको सुकेधाराबाट किनमेलको लागि आउनुभएकी रुपा गुरुङको भनाई पनि त्यस्तै रहेको छ । उनले विगतको तुलनामा बजारमा सामानको मूल्य २ सय रुपैयाँ भएपनि महँगो पाइएको बताइन् । उनले दशैँ नेपालीहरूको सबैभन्दा ठूलो चार्ड भएकाले पनि बजार मूल्य उपभोक्ताको लागि सहज र सस्तो सरकारले बनाउनुपर्ने बताइन् । त्यस्तै काठमाडौँको वसुन्धराबाट किनमेलको लागि असन आएकी स्मृती सेडाले पनि सामान्य समयको भन्दा दशैँमा आएर महँगो देखिएको प्रतिक्रिया दिइन् ।उनले काठमाडौँका अन्य बजार भन्दा असनमा सस्तो रहेको बताइन् ।

भक्तपुरबाट न्युरोडमा किनमेल गर्न आएकी क्रिषा भट्टराईले भने फरक प्रतिक्रिया दिइन् ।उनले विगतको भन्दा अहिले सस्तोमा समान पाउन थालेको बताइन् । उनले एक हजार रुपैयाँ भन्दा तलको मूल्यमा कुनैपनि सामान नपाउने अवस्थामा अहिले एक हजारमा राम्रो एक जोर लुगा किन्न सकिने अवस्था रहेको बताइन् ।

अधिकांश उपभोक्ताहरुले बजार महँगो भएकाले यो वर्षको दशैँ महँगो हुने भएको प्रतिक्रिया दिए । उनीहरूले बजारमा हरेक लुगादेखि जुत्ता चप्पलसम्मको मूल्यवृद्धि हुँदा सामान्य वर्गका मानिसहरुले महँगीको मार खेप्नुपर्ने अवस्था रहेको छ ।