एसिया प्यासिफिक केयर फोरमको प्यानलिष्टका लागि उपप्रमुख डंगोललाई निमन्त्रणा


काठमाडौँ । एसिया प्यासिफिक केयर फोरमको प्यानलिष्टका लागि काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डंगोललाई निमन्त्रण गरिएको छ ।

कार्तिक ६ देखि ८ गते (अक्टोबर २२–२४) थाइल्याण्डको बैंककमा आयोजना हुने फोरमको प्यानलिष्टका रूपमा उपप्रमुख डंगोललाई निमन्त्रणा गरिएको हो ।यूएन वुमनका नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेजले उपप्रमुखको कार्यकक्षमा आएर ‘केयरिङ् सिटिज’ शीर्षकमा हुने संवाद र छलफल सत्रको प्यानलिष्टका रूपमा सहभागी हुन निमन्त्रणा दिएकी हुन् । प्यानल, लैङ्गिक उत्तरदायी सहरी योजनाका विषयमा केन्द्रित हुनेछ ।

कार्यक्रममा हेरचाह र महिलाहरूको आर्थिक सशक्तीकरणको सम्भावनालाई आगामी दिनमा कसरी हेर्न सकिन्छ रु नीति, योजना, कार्यक्रम र लगानीका कोणबाट साझा बुझाइ निर्माण गरिनेछ । यस्तै ‘केयर इकोनोमी’ का सफल र असल अभ्यासहरूको आदानप्रदान र छलफल हुनेछ ।

महिला सशक्तीकरणको एसिया प्यासिफिक क्षेत्रमा विद्यमान सोचको पुस्तान्तरण, यसको रूपान्तरणमा महिलाहरूको आर्थिक सशक्तीकरण, रूपान्तरणका लागि निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) लगायत विषयहरूलाई फोरममा प्रस्तुतीकरणका रूपमा राखिनेछ । छलफल र संवाद गरिनेछ ।

कार्यक्रमको निमन्त्रणा ग्रहण गर्दै उपप्रमुख डंगोलले, महानगरपालिकाले कार्यान्वयनमा ल्याएका एकल सेवा केन्द्रसँगैको स्तनपान कक्ष र लिङ्गका आधारमा हुने हिंसालाई तत्काल सम्बोधन गर्न गठन गरिएका वडा महिला सञ्जालका बारेमा जानकारी गराएकी थिइन ।

उनले शासन प्रणालीमा महिला सहभागिताको प्रसङ्ग उठाउँदै भनिन्, ‘प्रणालीले महिलाहरूलाई पदीय स्थानहरू सुनिश्चित गरेको छ । कतिपय ठाउँमा पदीय दायित्वलाई अर्थपूर्ण बनाउन र कुशलतापूर्वक सम्पन्न गर्न क्षमता विकासका कार्यक्रम चाहिएका छन् ।’

पारिवारिक तथा सामाजिक अवस्थामा महिलाहरूको आर्थिक सशक्तीकरणको विषयलाई क्रमशः सम्बोधन गर्दै जानुपर्नेमा जोड दिइन ।भेटका क्रममा फर्नान्डेजले लिङ्गका आधारमा हुने असमानता घटाउन डंगोलले प्रस्तुत गर्ने दृष्टिकोण धेरैले प्रतीक्षा गर्ने बताएकी थिइन ।प्यानलिष्टका रूपमा डंगोललाई बोलाउन धेरै ठाउँबाट अनुरोध आएको समेत बताएकी थिइन ।