बिना धितो ऋण माग्दै साना तथा मझौला व्यवसायी


काठमाडाैँ । साना तथा मझौला व्यवसायीहरूले न्यून व्याजदरमा बिना धितो ऋण उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

कोभिड महामारी पछिको आर्थिक मन्दीको चपेटामा परेका साना तथा मझौला व्यवसायले गति लिन नसकेको भन्दै उनीहरूले बिनाधितो न्युन व्याजदरमा ऋण उलब्ध गराउन सरकारसँग माग गरेका हुन् । उनीहरूले कच्चा पदार्थको अभाव हुँदा आवश्यक सामग्री उत्पादनमा कठिनाई भएको र उत्पादित सामग्रीले पनि बजार पाउन नसक्दा व्यवसायीहरूले चरम नोक्शानी व्यहोर्नुपरेको गुनासो गरेका छन् ।

साना तथा मझौला व्यवसाय महासंघकी अध्यक्ष इनु पौडेलले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको साना तथा मझौला व्यवसाय विश्व आर्थिक मन्दीपछि उकासिन नसकेकाले सरकारले बिनाधितो ऋण उपलब्ध गराएर व्यवसायीलाई विस्थापित हुनबाट जोगाउनुपर्ने बताए ।

उनले पुरानै लयमा व्यवसाय फर्किन नसकिरहेको अवस्थामा मनसुनजन्य बाढी तथा डुबानका कारण तयारी सामग्रीको साथै कच्चा पदार्थमा ठूलो नोक्शानी भएको उल्लेख गरे। सरकारले लगानी गर्न नसके व्यवसाय नै धरापमा पर्ने भन्दै उनले साना तथा मझौला व्यवसायीलाई बिना धितो ऋण दिनुपर्ने तर्क गरे ।

अर्का व्यवसायी कर्णबहादुर विश्वकर्माले राज्यका विभिन्न कर प्रणालीमा सरकारले साना तथा मझौला व्यवसायीलाई न्याय गर्नुपर्ने धारणा राखे । व्यवसाय कर तिर्नेलाई नै घरबहाल कर पनि तिराउन नहुने तर्क उनले गरे । सरकारले साना तथा मझौला व्यवसायीका लागि विना धितो १५ देखि १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको भएपनि व्यवसायीले यो सुविधा सहज रुपमा प्राप्त गर्न सकेका छैनन् । व्यवसायीले बैकले विभिन्न किसिमका झन्झटिला प्रावधान राखेको गुनासो गर्दै आएका छन् । उनीहरुले ऋणको सिमा तोक्न नहुने तर्क पनि गर्दे आएका छन् ।