राष्ट्रियसभा अध्यक्ष दाहाल र थाइ सिनेट अध्यक्ष मोङकोलबिच भेटवार्ता


काठमाडाैँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबिच भेटवार्ता भएको छ ।

अन्तर-व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा पुगेका सुरसज्जासहितको थाइ संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबिच भेटवार्ता भएको हो। भेटवार्तामा दुई देशबिचको सम्बन्ध, आपसी हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र सहयोगबारे छलफल भएको थियो।

भेटमा राष्ट्रियसभा अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनताबीच बलियो सम्बन्धमा सेतुको काम गरेको बताए ।

थाइ पर्यटकका लागि भगवान्‌ बुद्धको जन्मस्थल लुम्बिनी महत्त्वपूर्ण धार्मिक एवम् पर्यटकीय गन्तव्यका रूपमा रहेको बताउँदै अध्यक्ष दाहालले थाइ सरकारले लुम्बिनी पवित्र बगैँचामा थाइ शैलीको बिहार निर्माण गरेर थाइ पर्यटकलाई नेपाल भित्र्याउन थप मद्दत गरेकोमा खुसी व्यक्त गरेका थिए ।

थाइल्याण्ड सिनेटका अध्यक्ष सुरसज्जाले नेपाली संसदीय टोलीसँगको भेट र सम्मानले आफूलाई निकै खुसी लागेको भन्दै यस किसिमको भेटघाट र छलफलले द्विपक्षीय सम्बन्ध बढाउन सहयोग पुग्ने बताए । बहुसंख्यक थाइ जनताले बौद्ध धर्म मान्ने गरेको उल्लेख गर्दै अध्यक्ष सुरसज्जाले बुद्ध जन्मभूमि नेपाल आफ्नो पनि सपनाको गन्तव्य भएको बताए ।