खाद्यका लागि कृषि अभियानले ४४ औं विश्व खाद्य दिवस कार्तिक २७ गते मनाउने


काठमाडौँ । खाद्यका लागि कृषि अभियानले यस वर्षको ४४ औं विश्व खाद्य दिवस कार्तिक २७ गते मनाउने तयारी गरेकाे छ। ‘सुखी जीवन र समुन्नत भविष्यको लागि खाद्य अधिकार’ भन्ने नारासहित अभियानले कार्तिक २७ गते विभिन्न कार्यक्रमहरूको आयोजना गरि विश्व खाद्य दिवस मनाउने तयारी गरेकाे हाे ।

बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि खाद्य सुरक्षा र भोकमरीका सवालहरूमा संवाद र अन्तरक्रिया गरिने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जानकारी दिए । विश्वभरका ११ जनामध्ये एक जना भोकै रहने तथ्यलाई ध्यानमा राख्दै, अभियानले वर्तमान खाद्य संकट र यसको समाधानमा गम्भीर चर्चा गर्न अधिकारीले बताए ।

कृषि र खाद्य उत्पादनको पारिस्थितिकी र दिगो विकासमा ध्यान केन्द्रित गर्दै, अभियानले जलवायु परिवर्तन, माटोको संकट र मानव स्वास्थ्यका मुद्दाहरूमा प्रभावकारी नीतिहरूको तर्जुमा गर्न आवश्यक रहेको बताएको छ।

अभियानले किसानलाई केन्द्रमा राखेर जैविक खेतीको प्रवर्द्धन गर्न र विषाक्त उत्पादनहरूमा निर्भरता कम गर्ने योजना बनाएको संयाेजक अधिकारीले बताए । उनले भने, “यस अवसरमा, खाद्यका लागि कृषि अभियानले सबैलाई खाद्य र कृषि प्रणालीको दिगो विकासका लागि एकजुट भएर लड्न आह्वान गरेको छ।”

उनले स्थानीय विशेषतामा आधारित प्रकृतिसम्मत खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा विज्ञहरूले कृत्रिम रसायिनक र विषादी रहित खेतीपाती र खानाको सुनिश्चितता गर्न आवश्यक रहेको बताएका छन्। खाद्यका लागि कृषि अभियानले सबै तहका सरकार, नागरिक समाज र किसान समुदायलाई यस अभियानमा जुट्न आह्वान गरेको छ। उक्त अभियानले स्वस्थ र पोषणयुक्त खानाको पहुँच सबैलाई उपलब्ध गराउने संकल्प लिएको छ।

४४ औं विश्व खाद्य दिवस आज विश्वभर मनाइँदैछ। नेपालमा भने सरकारी तबरबाट असोज २१ गते नै यो दिवस मनाइसकिएको छ। अन्य खाद्य सुरक्षा र अधिकारका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले आज मनाउँदैछन्। यो दिन खाद्य सुरक्षा र सबैका लागि पौष्टिक खानामा पहुँच सुनिश्चित गर्नमा जोड दिइन्छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइन्छ।

नेपालको संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । यस्तै जलवायु परिवर्तन लगायतका कारण विश्वमा खाद्य प्रणालीसहित मानव जीवनका आर्थिक, सामाजिकलगायत सबैजसो पक्षहरूमा असर परिरहेको छ । नेपालमा अझै पनि १३ प्रतिशत जनसङ्ख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको स्थितिमा रहेको सरकारी तंथ्याकहरूले देखाएको छ ।