विश्वका तीन सय ठूला सहकारी, जसले गरे वार्षिक २.४ ट्रिलियन डलरकाे कारोबार


काठमाडाैँ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले सन् २०२४ मा सार्वजनिक गरेको विश्वका तीनसय ठूला सहकारीहरूको सूचीअनुसार सहकारीहरूको कूल वार्षिक कारोबार २.४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी हुने गरेको छ।

यो अघिल्लो आधार वर्षभन्दा बढी हो। सन् २०२३ मा सार्वजनिक गरिएको प्रतिवेदनमा तीन सय ठूला सहकारीहरूको संयुक्त कारोबार वार्षिक करिब २.१७ ट्रिलियन अमेरिकी डलर थियो । आईसीएले सहकारी तथा सामाजिक उद्यमसम्बन्धी युरोपियन रिसर्च इन्स्टिच्युट (यूरिक्स) को प्राविधिक सहयोगमा विश्वका तीन सय ठूला सहकारीहरूको सूची २०२३ सार्वजनिक गरेको हो।

आईसीएले वार्षिक कारोबारको आधार र कुल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात गरी दुई आधारमा ‘वर्ल्ड कोअपरेटिभ मनिटर २०२३’ सार्वजनिक गरेको हो। दुवै आधारमा कृषि क्षेत्रमा काम गर्ने सहकारीहरूको बाहुल्यता छ। सन् २०२१ लाई आधार मानेर आईसीएले हालै अभौतिक रूपमा सार्वजनिक गरेको ३ सय ठूला सहकारीहरूको सूची समावेश भएको प्रतिवदेनले कारोबारको आधारमा ३ सय ठूला सहकारीहरूमध्ये १०५ कृषि सहकारीहरू रहेको देखाएको छ।

त्यस्तै, कुल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात आधारमा पनि ३ सय मध्ये १०३ कृषि सहकारीहरू नै छन्। पहिलो आधारमा बिमा सहकारीहरू ९६ वटा, थोक तथा खुद्रा सहकारी व्यवसायहरू ५७ वटा छन्। यस्तै, दोस्रो आधारका ३ सय ठूला सहकारीहरूमा कृषि पछि ८७ वटा बिमा सहकारी परेका छन्।

थोक तथा खुद्रा सहकारी व्यवसाय ५६ वटा छन् भने ३९ वटा वित्तीय सहकारी यो आधारमा ‘उच्च तीन सय’भित्र परेका छन् भने वार्षिक कारोबारको आधारमा २७ वटा वित्तीय सहकारी मात्र परेको आईसीएको प्रतिवदेनमा उल्लेख छ। कुल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात आधारमा भारतका इफ्को तथा अमूल क्रमशः पहिलो र दोस्रो नम्बरमा छन्। तेस्रो नम्बरमा फ्रान्सको ग्रुप एग्रिकोल छ।

यसैगरी, वार्षिक कारोबारको आधारमा सूचीको पहिलो नम्बरमा फ्रान्सको ग्रुप क्रेडिट एग्रिकोल छ भने दोस्रो नम्बरमा जर्मनीको रेभे र तेस्रो नम्बरमा ग्रुप बीपीसीई रहेको छ। १२औं संस्करणको वल्ड कोअपरेटिभ मनिटर जुम प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो। यसैगरी, वार्षिक कारोबारको आधारमा युरोपका १ सय ६६ देशका सहकारीहरू ३ सय ठूला भित्र परेका छन् भने दक्षिण र उत्तर अमेरिकाका गरी ९४ वटा सहकारी तथा एशिया प्रशान्तका ४० सहकारी सूचीमा अटाएका छन्।