निर्यात अनुदान नपाएपछि उद्योगीले गुहारे अर्थमन्त्री, छिटै निकासा गर्ने प्रतिवद्धता


काठमाडौँ। स्वदेशमै उत्पादित वस्तु निर्यातका लागि सरकारले गरेको अनुदानको व्यवस्था अनुरूपको रकम नपाएको उद्योगीले गुनासो गरेका छन्। गत आर्थिक वर्ष ०७९/८० देखि नै अनुदान वापतको रकम नपाएपछि उद्योगीले अर्थमन्त्री गुहारेका छन्। 

फेडरेशन अफ नेपाल एक्स्पोर्टर्स एशोसिएसनको तर्फबाट बुधवार उद्योगीहरूको समूह अर्थमन्त्रीलाइ भेटेर ध्यानाकर्षण गराएको छ । अध्यक्ष पवन गोल्याणको नेतृत्वमा गएको टोली अर्थमन्त्रीको याथसिघ्र निकासा गर्नेप्रतिवद्धता लिएर फर्केको छ । 

अर्थमन्त्री विष्णु पौडेलले उद्योगीसँग छलफल गर्देै समस्याका बारेमा जानकारी लिएका थिए। अर्थमन्त्रीले गम्भीरतापूर्वक लिएपछि आफूहरू आश्वस्त भएर फर्केको चिया उद्यमी शान्ता वाँस्कोटाले बताइन्।  

व्यापार घाटा बढ्दै गएको सन्दर्भमा आयात प्रतिस्थापन तथा निर्यात अभिवृद्धिको लागि राज्यले लिएको नीति अनुरूप काम गरेको तर अनुदानको समयमा भुक्तानी नहुँदा उद्योगी हतोत्साहित बनेको दुखेसो उद्योगीको छ । 

अर्थमन्त्री पौडेललाई बुझाइएको ज्ञापनपत्रमा  सरकारको बजेटमा निर्यात अनुमतिको प्रावधान गरिएकाले उत्साहित बनेका उद्योगी समयमा सरकारले गम्भीरता नदेखाउँदा समस्यामा परेको उल्लेख गरिएको छ।  

पत्रमा भनिएको छ, “समयमा अनुदान नपाउँदा आज उद्योग संचालनमा ठूलो मर्का पर्न गएको छ । यसबाट स्वदेशी कच्चा पदार्थ प्रयोग गरी निर्यात गर्ने कृषिजन्य उद्योग, धागो तथा गार्मेट जस्ता धेरै रोजगारी सृजना गर्ने उद्योग कलकारखानामा अत्यधिक लागत वृद्धि भएका कारणले हतोत्सित भइ रूग्न हुने स्थितिमा पुगेका छन्।”

देशको मेरूदण्डको रूपमा रहेका निर्यातजन्य उत्पादन गर्ने उद्योगको लगानी सुरक्षा तथा रूग्ण हुन नदिन पत्रमा अनुरोध गरिएको छ । उत्पादनमा ह्रास आउन नदिन सरकारसँग माग गरेका हुन्। 

अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष प्रयाप्त बजेट निकासा नगरेकाले समयमै अनुदान वापतको रकम भुक्तानी गर्न नसकिएको जनाएका छन्। अब भने डेटलाइन नै तोकेर निकासा गरिने प्रतिवद्धता उद्योगीसँग गरेका छन्।