विपद्पछिको अनावश्यक मूल्यवृद्धि रोक्न सांसदहरूको सरकारलाई आग्रह


काठमाडाैँ । राष्ट्रिय सभाका सांसदहरूले विपद् व्यवस्थापनको नाममा जनतालाई ठगी गर्ने काम हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।

बाढी, पहिरो र डुबानपछि देशमा दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक बढाएर जनतालाई ठग्ने काम गरेको भन्दै त्यस्ता अवाञ्छित गतिविधि बन्द गर्न उनीहरूले सरकारलाई सचेत गराएका हुन् ।

शुक्रवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली काँग्रेसका सांसद युवराज शर्मा, एमालेकी सांसद सुमित्रा बिसी र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद रेणु चन्दले विपद व्यवस्थापनको कामलाई प्रभावकारी ढंगले नीति निर्माण गर्न र त्यसको कार्यान्वयनको कामलाई तिब्रता दिन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

सत्तारुढ एमालेकी सांसद सुमित्रा बिसीले गत असोज ११ र १२ गते आएको बाढि, पहिरो र डुबानको समस्या समाधान गर्ने काममा पर्याप्त ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना समेत गरिन् ।

उनले भनिन्,”विपद व्यवस्थापनका सरकारले जे जति गर्‍यो, त्यो अपुग भयो कि भन्ने मलाई व्यक्तिगत रुपमा पनि लाग्यो । अब यो प्राकृतिक प्रकोपलाई कसैले छेक्न त सक्दैन । तर अहिलेको प्रविधि अनुसार जे जति गर्न सक्दथ्यौं, त्यो अलि पुगेन कि भन्ने मलाई लागेको छ ।”

सत्तारुढ काँग्रेस सांसद युवराज शर्माले विपद्को नाममा हुने गरेका अनावश्यक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरे । उनले बाढी र पहिरोपछि रोगव्याधि पनि बढ्ने सम्भावना भएको औंल्याउँदै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई ध्यान दिन आग्रह गरे ।

यता, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले पनि विपद्मा परेकाहरुलाई तत्काल राहत दिनेगरी आवश्यक नीतिगत निर्णय लिन सरकारलाई दबाब दिइन् । उनले जाजरकोटलगायतका जिल्लामा एक वर्ष बित्दा पनि भूकम्प पीडितका लागि आवास निर्माणका लागि दोस्रो किस्ता वापतको रकम सरकारले उपलब्ध नगराएकोमा पनि आक्रोश व्यक्त गरिन् ।