सहकारी छानविन विशेष समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही सुरू भएको छः मन्त्री गुरुङ


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि सुरूवाती कारबाही सुरू भएको बताएका छन् ।

आइतवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले सरकारले समितिले बुझाएको प्रतिवेदनउपर सुरूवाती कारबाही सुरू भएको बताएका हुन्। उनले समितिको प्रतिवेदनअनुसार प्रतिवेदनले कारबाही गर् भनेका व्यक्तिहरुलाई पक्राउ गरिएको बताए । उनले मन्त्रालय सम्हालेको सय दिनमा आफूले शतप्रतिशत काम सम्पन्न गरेको पनि बताए ।

उनले यो अवधिमा सञ्चार मन्त्रालयलाई दिइएका १५ वटा जिम्मेवारीमा पूरा काम सम्पन्न गरेको बताए । उनले राष्ट्रिय समाचार समितिलाई २४ घण्टा नै काम गर्ने व्यवस्था मिलाइएको र थप दुई वटा मातृ भाषा ( नेपाल र मैथिली) मा समाचार संप्रेषण गरेको, नेपाल टेलिभिजनलाई दिइएको एउटा मातृ भाषामा समाचार प्रशारण गर्ने दायित्वमा नेपाल भाषामा समाचार प्रशारण गरिएको जानकारी दिए । उनले २४ भाषामा समाचार भइसकेको रेडियो नेपालमा थप एक भाषा थप्नुपर्नेमा दनुवार भाषा थपिएको बताए ।

सञ्चारमन्त्री गुरुङले एक हजार वटा अडियो रेकर्ड डिजिटलाइज गर्ने भनिएकोमा सो काम पनि पूरा गरेको र गोरखापत्रबाट ४४ वटा भाषामा समाचार संप्रेषण गर्ने जिम्मेवारी दिएकोमा राना थारु भाषामा समाचार संप्रेषण र प्रकाशन गर्ने काम भइसकेको बताए ।