फस्टाउँदै पुष्प व्यवसाय, वर्षमा साढे दुई अर्बभन्दा बढीकाे काराेबार


काठमाडाैँ । नेपालमा वि.स २०११ बाट सामान्य स्तरमा सुरू भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरू लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ ।

हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि अनुमानित ५१ हजार ५०० भन्दा बढी जशक्तिहरू रोजगार रहेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले उपल्बध गराएको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष पुष्पा व्यवसाय फस्टाउँदै गएको देखाएको छ ।

आर्थिक वर्ष २०७५\७६ मा पुष्पको बार्षिक कारोबार रु.२ अर्व ४२ करोड रहेकोमा आर्थिक वर्ष ०७७\७८ मा बर्षे भरी कोभिड महामारीको कारण पुष्पको ब्यवसायिक कारोबारमा कमी आई जम्मा रु.१ अर्व ६३ करोड मा खुम्चिएको थियो भने आर्थिक वर्ष २०७८\०८९ मा कोभिडको असर केहि कम हुदा पुष्पको बार्षिक कारोबारमा केहि बृद्धि भएको थियो ।

त्यस्तै गत आथिक बर्ष ०७९\८० मा रु.३ अर्व ७ करोड भन्दा बढीको कारोबार भएकोमा अघिल्लो बर्षको तुलनामा आर्थिक बर्ष २०८०\८१ मा १९.८६ प्रतिशतले वृद्धि भई रु.३ अर्व ६८ करोड भन्दा बढीको कारोबार भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार यसै आर्थिक बर्ष ०८०\८१ मा पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक निर्यात् कारोबार रु.१ करोड ०२ लाख १२ हजार भएको छ भने आयात तर्फ रु. २७ करोड ७९ लाख ०५ हजारको कारोबार रहेको छ।