सेरेस बिक्रेताले भन्यो: प्राविधिक समस्याका कारण गाडीबाट धुवाँ निस्कियो


काठमाडौँ । आज बिहान काठमाडौँको सितापाइलाको एक सर्भिस सेन्टरमा पार्किङ गरेर राखेको सेरेस ईभी कारमा प्राविधिक खराबीको कारण धुँवा निस्किएको कम्पनीले जनाएकाे छ । सेरेसको आधिकारिक बिक्रेता एमएडब्लु बृद्धि मोटर्सले एक विज्ञप्ती जारी गर्दै प्राविधिक खराबीको कारण धुवाँ निस्किएको जनाएको हो ।

सो कार अनधिकृत सेवा केन्द्रहरू मार्फत् मर्मत सम्भार गरिएको हुनसक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको कम्पनीको भनाइ छ ।

“गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडिमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको थियो,” कम्पनीले भनेको छ, “उक्त गाडि विगतमा अनधिकृत सेवा केन्द्रहरू मार्फत् मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।”

विद्युतीय सवारी साधनहरू धेरैखाले सुरक्षा सुविधाहरूले सुसज्जित हुने भन्दै सो कम्पनीले आफ्नो सवारी साधनको मर्मत सम्भार तोकिएको सेवा केन्द्र मार्फत् मात्र गराउन पनि अनुरोध गरेको छ ।

कम्पनीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या नदेखिएको जनाएकाे छ ।