के हो मनी म्यूल ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता वा वालेटको जानकारी कसैलाई पनि नदिनको लागि आग्रह गरेको छ । बैंकले सुचना जारी जारी गर्दै आफ्नो बैंक खाता वा वालेटको जानकारी दिए आपराधिक कार्यमा साझेदार हुनसक्ने भन्दै सचेत गराएको हो ।

इमेल, फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप, टेलिग्राम वा अन्य सामाजिक सञ्जाल तथा फोन वा मोबाइल म्यासेजमार्फत छिटो र आकर्षक आम्दानी हुने प्रस्तावहरु पठाई विश्वासमा पारी बैंक खाता वा वालेटको गोप्य विवरण लिने र त्यस्ता व्यक्तिले आपराधिक कार्यबाट पाएको रकम नगदमा झिक्ने वा पुनः अन्य खातामा रकमान्तर गर्ने गर्दछन् ।

त्यस्ता व्यक्तिले तपाईको खाताबाट कारोबार गरेर तपाईलाई पनि अपराधमा साझेदार बनाउन सक्ने अपराधिक पद्धतीलाई मनी म्युल भनिने राष्ट्र बैंकले जनाएको छ । त्यसैले नेपाल राष्ट्र बैंकले बैंक खाता वा वालेटको जानकारी कसैलाई पनि नदिनको लागि आग्रह गरेको हाे ।

यो गतिविधि सम्पत्ति शुद्धीकरण सँग सम्बन्धित वित्तीय अपराध भएकोले यसमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाही समेत हुने गरेको छ ।