घट्यो नेपालको आयात निर्यात


काठमाडौँ । नेपालको वैदेशिक व्यापार निरन्तर घटिरहेको देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आयात ४.१७ प्रतिशतले घटेको छ भने निर्यात ६.११ प्रतिशतले घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।

नेपालको निर्यात पनि ओरालो लागेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँ बराबर निर्यात भएकोमा चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

नेपालको कुल वैदेशिक व्यापार ४.३५ प्रतिशतले घटेको छ । नेपालले चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ४ खर्ब २९ अर्ब १३ करोड १० लाख ३८ हजार रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ ।

नेपालको व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रुपैयाँ बराबर रहेको छ ।