काठमाडाैँ । सत्तारुढ दलहरुले सडकबाट अवाञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्याउने काम नगर्न आग्रह गरेको छ ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ सात राजनीतिक दलहरूले साझा ७ बुँदे दृष्टिकोण सार्वजनिक गर्दै देशको लोकतान्त्रिक वातावरणलाई बिथोल्ने अनुचित र अवाञ्छित तरिकाहरु उचित नभएको बताएका हुन् ।
मुलुकको लोकतान्त्रिक प्रक्रियालाई सहि दिशामा अगाडी बढाउनका लागि सरकारले अगाडी बढाइरहेका प्रक्रियाहरुमा सहयोगका लागि आग्रह गरेका छन् । सत्तारुढ दलहरूले लोकतन्त्रको विकल्प उन्नतस्तरको लोकतन्त्र मात्रै हुने भन्दै लोकतन्त्रमा सरकारको विकल्प संसदबाट र जनादेशबाट मात्रै हुने स्पष्ट पारेका छन् । सडकबाट आवञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्याउने र विकास निर्माणको कामलाई अवरोध गर्ने काम उचित नभएको सत्तारुढ दलहरुको निष्कर्ष रहेको छ ।
बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार गठन भएपछि कानूनी सुधारका पक्षमा अनुकुल वातावरण बढ्दै गइरहेको र राजश्व वृद्धिमा भइरहेको सुधारले अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएको निष्कर्ष निकालेको बताए । उनले सहकारी संस्था वचत रकम दुरुपयोगको सन्दर्भमा गठित संसदीय छानविन विशेष समितिले तयार गरेको प्रतिवेदनको आधारमा छानविनको प्रक्रिया अगाडी बढिरहेको भन्दै सो प्रक्रियालाई अनुचित ढंगले प्रभाव पार्ने कुनैपनि प्रकारका गतिविधिहरू, काम नगर्नका लागि सात राजनीतिक दलहरूले सामुहिक रूपमा अनुरोध गरेको जानकारी गराए।
उनले निष्पक्ष र पारदर्शी तरिकाले छानविनको प्रक्रिया अगाडी बढाइएको कुराप्रति आश्वस्त हुनका लागि अनुरोध गरिएको पनि जानकारी गराए। दलहरूले संघीयता कार्यान्वयनको सम्बन्धमा आवश्यक कानून निर्माणको प्रक्रियालाई अनौपचारिक र औपचारिक तरिकाबाट छलफल गरि छिटो निरुपण गर्ने कुरामा जोड दिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्