बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा अवस्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारणसभामा सहकारीको निति नियममा चलेका तथा समुदायमा आधारित सहकारीहरूमा समस्या नदेखिएको भन्दै वक्ताहरूले सहकारी क्षेत्रमा देखिएको विभिन्न चुनौती र अपचलनबारे विचार राखेका छन् ।
साधारणसभामा संस्थापक अध्यक्ष चरणदास तिमिल्सेनाले कतिपय सहकारी संस्थाहरूले नियम विपरीत काम गर्दै सहकारीको रकमको दुरुपयोग गरेको उल्लेख गर्दै केही सहकारीको बदमासीले साधारण सहकारीप्रति पनि आशंका बढाएको बताए। उनले समुदायमा आधारित सहकारीमा अझैसम्म कुनै समस्या नदेखिएको जानकारी गराए। संस्थापक अध्यक्ष तिमिल्सेनाका अनुसार श्रोत नखुलेको रकम तथा भ्रष्टाचारको पूँजी सहकारीमा लगेर उच्च ब्याज लिने प्रवृत्तिले समस्या बढाएको हो।
बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुनाखर खनालले पनि बुटवल क्षेत्रमा जिल्लाबाहिर दर्ता भएका करिब दश सहकारीमा अपचलनको समस्या देखिएको बताए। उनले पुष्प सहकारीको साधारण सभामा सहभागी हुँदा सो संस्थामा खराब कर्जा नदेखिएकोमा सन्तोष व्यक्त गरे। पुष्प सहकारीका अध्यक्ष रामप्रसाद पाण्डेले संस्था सदस्यहरूको भावना अनुसार नियममा रहेर काम गरेको बताउँदै संस्थाको आर्थिक अवस्था सन्तोषजनक रहेको जानकारी गराए।
इन्द्रेणी बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष माया गौतमले सहकारीमा ठुलो पूँजी मात्र नभएर सही व्यवस्थापन आवश्यक हुने बताइन्। सहकारीकी सचिव कल्पना थापाको सञ्चालनमा भएको साधारणसभामा विभिन्न प्रतिवेदन प्रस्तुत र अनुमोदन भएकाे थियाे । सहकारीमा हाल कुल ९१७ जना सदस्य रहेको र शेयर पूँजी २ करोड ३८ लाख ९८ हजार ७०० रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। कर्जा लगानी ९ करोड २१ लाख १३ हजार र बचत ११ करोड ३१ लाख २४ हजार ३४६ रहेको छ। गत आर्थिक वर्षमा सहकारीले १४ लाख ४५ हजार ५५३ खुद मुनाफा आर्जन गरेको छ।
प्रतिक्रिया दिनुहोस्