काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्वलाई लक्षित गर्दै खाद्य बजारमा अनुगमन गरेको छ। अनुगमनको क्रममा कार्तिक ९ र ११ गते मोवाइल फुड ल्याबको प्रयोग गरी विभिन्न खाद्य पदार्थको नमूना चेकजाँच गरिएको हो। यो अनुगमनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को मापदण्ड अनुसार निरीक्षण तथा निर्देशन दिएको छ।
अनुगमनकाे क्रममा गोकुल इन्डस्ट्रिज, ओम गणपति स्विट्स, पवन स्विट्स लगायतका मिठाई उत्पादन गर्ने व्यवसायहरूमा सरसफाई र भण्डारण व्यवस्थापनमा कैफियत फेला परेको विभागले जनाएकाे छ । जावलाखेलस्थित ओम गणपति स्विट्समा मिठाईको भण्डारण अव्यवस्थित अवस्थामा रहेको पाइएको थियो। यस्तै, पवन स्विट्समा मिठाई नछोपी राखेको अवस्थामा फेला पारिएको थियाे । यी व्यवसायहरूलाई सरसफाईमा ध्यान दिन निर्देशन दिइएको विभागले जनाएकाे छ ।
टोखास्थित देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. (KFC) मा तेल र प्रशोधित पानीको नियमित गुणस्तर परिक्षण गरिएको पाइएको छ। साथै, बिन्दवासिनी स्विट एण्ड चाटमा उपभोग्य मिति समाप्त भएको दूध फेला परेर नष्ट गरिएको छ। यसरी अनुगमनले उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ बिक्रीमा रोक लगाउँदै खाद्य स्वच्छताको मापदण्ड पालना गर्न निर्देशन दिएको छ।
यो अनुगमनको प्रमुख उद्देश्य चाडपर्वका समयमा उपभोक्ताहरूलाई गुणस्तरीय र सुरक्षित खाद्य पदार्थको आपूर्ति सुनिश्चित गर्नु रहेको विभागका प्रवक्ता माेहन कृष्ण महर्जनले बताए ।
प्रतिक्रिया दिनुहोस्