काठमाडौँ । हिन्दुहरूको दोस्रो महान् पर्व तिहार सकिएको छ । काग, कुकुर, गाई, र दाजु–भाइको पूजा अनि घर सजावटका लागि सयपत्री र मखमली नै पहिलो रोजाइमा पर्ने भएकाले तिहार फूलैफूलको पर्वको रूपमा पनि चिनिन्छ । साेही अनुरुप यस वर्षको तिहारमा ४० लाख माला खपत भएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ। जसमा ३५ लाख सयपत्री, पाँच लाख मखमली र गोदावरीको माला खपत भएको थियाे । तिहार सकिएपनि तिहारको बेलामा प्रयोग भएका फूलहरूको आयू भने तपाईँ हामीले सोचे जसरी सकिएको छैन ।
तिनै प्रयोग भएका फूलको खेरा जानबाट रोक्नको लागि विगत ६ वर्षदेखि काठमाडौँको विशालनगरमा उद्यमी सुष्मा शर्माले ‘फूल प्रसाद’ कम्पनी स्थापना गरेर विभिन्न फूलबाट ‘धूप’ बनाउँदै आएकी छन् । दसैँ र तिहार जस्ता पर्वहरूमा घर सजावट र पूजा गर्न प्रयोग भएका फूलहरूलाई सङ्कलन गरेर, ती फूलहरूबाट करिब १२ प्रकारका धूपहरू बनाइन्छ।
सन् २०१८ सालमा सुष्मासहित तीन जना पाटर्नर मिलेर अघि बढाएकाे कम्पनीले उत्पादन गरेको धुप देशभित्र मात्रासिमित नरहेर हाल अमेरिका, युरोप, जापान र चीन निर्यात गर्दै आएको छ।
यी फूलहरूलाई संकलन गरी सुकाएर धूप बनाउने प्रक्रियामा प्रयोग गर्न सकिन्छ। यसरी उत्पादन गरिएका धूपले धार्मिक तथा सांस्कृतिक महत्व त दिन्छ नै, साथमा वातावरण संरक्षणमा पनि योगदान पुर्याउने सुष्माकाे भनाइ छ । काेभिड १९ को महामारीका बेला उतारचढावका कारण पनि व्यवसायलाई धानेर ६ वर्षसम्म यस्तो काम गर्न पाउँदा छुटै खालको आन्नद लाग्ने बताउछिन् ।
सरकारको पनि ध्यान
गत वर्ष २०८० मंसिर ११ गतेदेखि १४ गतेसम्म वनस्पति विभाग अन्तर्गतको प्राकृतिक सम्पदा अनुसन्धानशालाले सयपत्री फूलबाट ल्युटिन निकाल्ने र सौन्दर्य सामाग्री बनाउने चार दिने निःशुल्क तालिम गरेकाे थियो ।
उक्त तालिममा १७ जनाको सहभागिता गराएर तिहारमा सयपत्री फूल बिक्री नभई खेर गएको खबर गत वर्ष सार्वजनिक भइरहँदा विभागले प्रयोग भइसकेका फूल तथा मालालाई पनि पुनः प्रयोग गर्न सकिनेबारे तालिम दिएको थियाे ।
बहुउपयोगी सयपत्री फूललाई पूजा एवं सजावटको रूपमा मात्र नभई फूल एवं पातलाई धूपसमेत बनाउन प्रयोग गर्न सकिने र यसमा भएको महत्त्वपूर्ण रसायन ल्युटिनको एन्टिअक्सिडेन्ट गुण भएकाले यसलाई निकाली सौन्दर्य सामाग्री र खाद्य पुरकको रूपमा समेत उपयोग गर्न सकिने भन्दै विभागले उक्त तालिम दिएको थियो जुन सफल भएकाे विभागकाे भनाइ छ ।
फूलबाट खाने क्याप्सुल (भिटामिन ए), सौन्दर्यका सामग्री सन प्रोटेक्सन क्रिम (सनस्क्रिन), धुप, अगरबत्ती, सुगन्धित तेल बनाउन सकिने भएकाले किसान तथा व्यवसायीलाई यी सामग्री बनाउन तालिम गत वर्ष दिएको विभागले जनाएको छ ।
स्वदेशी उत्पादनले धानेकाे तिहार
यस वर्षको तिहारमा स्वेदेशी फूलकाे उत्पादनले नै तिहार धानेकाे छ । फ्लोरिकल्चर एसोसिएशन नेपालका अनुसार ४० लाख माला बिक्री भएकाे थियाे जसमा ३५ लाख सयपत्री, पाँच लाख मखमली र गोदावरीको माला बिक्री भएको हो । यसबाट ४० करोडभन्दा बढीको कारोबार भएको छ।
फ्लोरिकल्चर एशोसिएसन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले स्वदेशी फूलले बजारको माग पूर्ण गर्न सफल भएको जानकारी दिएका छन्। उनले यस वर्ष भारतबाट माला नआउँदा स्वदेशी उत्पादनको मात्रामा वृद्धि भएको उल्लेख गर्दै भने, “यसले गर्दा किसानले उचित मूल्य पाएका छन् र आगामी वर्ष उत्पादन बढाउन थप प्रोत्साहन मिलेको छ।”
नेपालमा वि.सं २०११ बाट सामान्य स्तरमा सुरू भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरू लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ ।
हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि अनुमानित ५१ हजार ५०० भन्दा बढी जशक्तिहरू रोजगार रहेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले उपल्बध गराएको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष पुष्प व्यवसाय फस्टाउँदै गएको देखाएको छ ।
देशको ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प क्षेत्रले यसको गरिरहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्