जलवायु परिवर्तनका असर न्युनिकरणका लागि विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छः उपप्रधानमन्त्री सिंह


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वल्र्ड अर्बान फोरममा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर न्युनिकरणका लागि विश्व समुदायले सहयोग गर्नुपर्नेकुरालाई जोड दिएको बताएका छन् ।

इजिप्टको कायरोमा वल्र्ड अर्बान फोरममा सहभागी भइ नेपाल फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर दातृ निकायहरुले नेपाललाई जलवायु परिवर्तनका असरबाट बचाउन सहयोग गर्न अपिल गरेको बताएका हुन ।

उनले जलवायु परिवर्तनका कारण नेपालले अतिवृष्टि, अनावृष्टि लगायतका विपद् भोगिरहेको कुरा सम्मेलनमा प्राथमिकताका साथ उठाएको बताए । उनले बाढी, पहिरो जाने, हिमालहरुमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा रहेको कुरा सम्मेलनमा जोडदार रुपमा उठाएको नेपालको प्रश्तुती सशक्त भएको उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय समुदायहरु नेपाललाई जलवायुअनुकुलनका लागि सहयोग गर्न सकारात्मक रहेको बताए ।

उपप्रधानमन्त्री सिंहले जलवायु परिवर्तनका असर कम गर्नेगरी नयाँ शहरको निर्माणको योजना बनाउनुपर्ने बताए । गत आईतवार इजिप्ट प्रस्थान गर्नुभएका उपप्रधानमन्त्री सिंहले शहरी विकास सम्बन्धी विश्व सम्मेलनमा तीन वटा सत्रलाई सम्बोधन गरेका थिए ।सम्मेलनमा नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरी कसरी शहरीकरण र बस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई प्रमुख एजेण्डा बनाएका थिए ।