भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरीः राष्ट्रपति पौडेल


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने बताएका छन् ।

शनिवार काठमाडौंमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने बताएका हुन् ।

उनले मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद् चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने र यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउनसक्नु नै अहिलेको आवश्यकता भएको बताए । उनले मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी रहेको उल्लेख गरे । उनले अवसरबाट वञ्चित गरिएका र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरुलाई केन्द्रमा राखेर सरकारका नीति एवं कार्यक्रमहरु तय गरी लागू गर्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले स्वतन्त्रता लोकतन्त्रको आधारभुत र अत्यावश्यक आलोक भएको उल्लेख गरे ।