सहकारी ठगबाट पैसा असुल गरी सहकारी पीडितको पैसा फिर्ता गर्छौंः खानेपानीमन्त्री यादव


काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरूबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने बताएका छन् ।

शनिवार काठमाडौँमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले वर्तमान सरकारले राम्रो सन्देशसहित राम्रो काम गरिरहेको उल्लेख गरे । उनले देशमा सहकारी पीडित नागरिकहरू धेरै भएको भन्दै सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको दाबी गरे।

उनले अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको बताए । गल्ती गर्नेहरू ठूला राजनीतिक दलहरू नै भएपनि सरकारले नछोड्ने बताए । जुलुस आन्दोलन गरेर सहकारी पीडितले न्याय नपाउन् भन्ने हेतुबाट काम भइरहेको रास्वपा लक्षित टिप्पणी गरे । उनले सहकारी ठगबाट पैसा असुल गरेर सहकारी पीडितको पैसा सरकारले फिर्ता गराउने बताए । ढोरपाटनका मेयर नेकपा एमालेबाट रहेको र एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ प्रधानमन्त्री भएपनि सहकारीको रकम अपचलन गरेको आरोपमा मेयरलाई अनुसन्धानमा ल्याइएको बताए । उनले आन्दोलन गरेर समस्या बल्झाउन खोजिरहेको भन्दै बिरोध गर्नेहरु सफल नहुने बताए ।