राष्ट्रिय सहकारी बैंकको २१औं वार्षिक साधारण सभा मङ्सिर २९ गते


काठमाडाैँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा आगामी मङ्सिर २९ गते शनिवार हुने भएको छ ।
बैंकको शनिवार (कार्तिक २४ गते) सम्पन्न सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र केन्द्रीय उपसमितिका सदस्यहरूको संयुक्त बैठकले मङ्सिर २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

बैंकको २१औं वार्षिक साधारण सभा अन्तरगत मङ्सिर २९ गते ७ प्रदेशमा एकाइ सभा र पुस ३ गते एकाइ प्रतिनिधिहरूको सभा गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए । एकाइगत रूपमा हुने साधारण सभा अन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको बार्दिबास, बागमती प्रदेशको काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने छ । सात प्रदेशमा हुने एकाइ सभाबाट चयन हुने प्रतिनिधिहरूले साधारण सभाको बैठकका निर्णयहरू प्रमाणित गर्ने सभा पुस ३ गते काठमाडौँमा गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

एकाइ स्तरमा सञ्चालन साधारण सभाको कार्यसूचीमा रहेका प्रतिवेदनहरू एकाइ ३ मा भौतिक र अन्य एकाइमा भर्चुअल माध्यमबाट पेस हुने छन् । साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८०\०८१ को लेखा परीक्षण प्रतिवेदन, आ.ब. २०८१\०८२ को प्रस्तावित बजेट तथा कार्यक्रमको विषयमा छलफल एवम् निर्णय हुने छ ।

त्यसैगरी विनियम संशोधन, कार्यविधिहरू थप तथा संशोधन, नियमनकारी निकायको निर्देशनको जानकारी सहित विभिन्न ११ वटा कार्यसूचीका विषयमा छलफल एवम् निर्णय हुने छ । बैंकमा हालसम्म १६ हजार ३ सय ४६ सहकारी संघ संस्था सदस्य रहेका छन् ।