काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो इमान र निष्ठामाथि धावा बोल्ने काम भएको भन्दै कानूनी लडाईं लड्ने बताएका छन् ।
नेपाली काँग्रेसका सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि काँग्रेसकै सांसद राजैन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका थिए । सोहीबारेमा स्पष्टीकरण दिँदै मन्त्री पाण्डेले केही मानिसहरुले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताए ।
उनले नाजायज लाभबाट आफ्नो व्यक्तित्व विकास गर्न खोज्नेहरुले आरोप लगाएको बताए । इमान, निष्ठा, इज्जत र प्रतिष्ठा नभएकाहरुले आफ्नो इमान्दार प्रयासलाई मान मर्दन गर्नेगरी मनोबल गिराउन आरोप लगाएको बताए । पर्यटन क्षेत्रलाई फेरि हिलो पानीमा माछा मार्ने क्षेत्रकै रुपमा राखिराख्न र त्यसमा आफू सफल हुन तथा नाजायज फाइदा लिन यस किसिको आरोप लगाइएको बताए ।
यसबारेमा आफूले सरकार, पार्टीलाई पनि जानकारी गराउने र कानूनी लडाईं पनि लड्ने बताए । उनले इमान्दार मान्छेहरुले नैतिकताको बाटोबाटै संघर्ष र प्रतिवाद गर्नसक्ने उनको भनाइ छ । सरकार र पार्टीलाई केही नराम्रो गरेको छ भन्ने लागेको भए आफूमाथि छानविन गर्न पनि आग्रह गरे । आफूबाट जानेर\नजानेर कुनैपनि खालको कमजोरी भएको भए सरकार पार्टीबाट बाहिरिने घोषणा गरे । मन्त्री पाण्डेले आकाशलाई सुरक्षित गर्न, जिडिपी बढाउन र पर्यटन प्रवद्र्धनका लागि आफूले सक्दो पहल गरिरहेको बताए ।
मन्त्री पाण्डेले देशलाई विकास र समृद्धितिर अघि बढाउन खोज्दा मान मर्दन गर्नेहरु सल्बलाएको बताए । उनले देशलाई,मन्त्रालयलाई र पर्यटन क्षेत्रलाई घाटा पुर्याउने कुनैपनि आवरणका विचौलियाहरुबाट सुरक्षित राख्ने जिम्मेवारी आफूलाई रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्