काठमाडाैँ । वन तथा वातावरण मन्त्रालयले अजरबैजानमा जारी विश्व जलवायु सम्मेलन कोप-२९ मा नेपालको प्रश्तुति प्रभावकारी रहेको जनाएको छ ।
सम्मेलनस्थलमा शुक्रवार बन मन्त्री ऐनबहादुर शाही नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले पत्रकार सम्मेलन गरी सम्मेलनमा नेपालको तर्फबाट भएको छलफलको प्रगति विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव सिन्धुप्रसाद ढुंगानाले सरकारले तयार गरेको राष्ट्रिय स्थिति पत्रमा उल्लेखित ७ वटा एजेण्डामा आधारित भएर गठन भएका विषयगत समूहहरूबाट सम्मेलनमा उच्चस्तरीय र साईड वार्ताहरुमा सक्रिय सहभागिता जनाउने काम भईरहेको जनकारी दिएका हुन्।
कार्यक्रममा वनमन्त्री शाहीले सम्मेलनमा नेपालको उपस्थिति सहभागीता मात्रै नभएर अर्थपूर्ण रहेको स्पष्ट पारे । उनले उच्चस्तरीय बैठक अत्यन्तै प्रभावकारी भएको र विषयगत बैठकहरुमा पनि निर्णयलाई प्रभाव पार्ने ढंगको प्रस्तुती रहेको दाबी गरे । सहसचिव ढुंगानाले सरकारको प्राथमिकता र एजेण्डाअनुसार जिम्मेवारी तोकिएका समुहबाट विषयगत बैठकहरुमा प्रसंसनिय सहभागीता जनाउने काम भएको स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा विषयगत समूहका नेतृत्व लिएकाहरुले आफ्नो क्षेत्रमा भएको प्रगति विवरण प्रश्तुत गरेका थिए । जलवायु वित्तको नेतृत्व गरेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले ओडिएको रकमलाई जोडेर जलवायु वित्तको सवाल सम्बोधन भयो भन्न पाइँदैन भन्ने विषय आफूहरुले उठाएको बताए । अनुदान बढाउनुपर्ने र को– फाईनान्सिङमा जान नहुने विषय पनि प्राथमिकताका साथ राखिएको उनले स्पष्ट पारे ।
जलवायु न्युनिकरण समूहका नेतृत्व गरेका वन मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले छिनछिनमा बैठक बस्ने र छिनछिनमा स्थगित भइरहेकाले न्युनिकरणको विषयमा ठोस निर्णयमा पुगिनसकेको भएपछि कतिपय विषयहरु सकारात्मक दिशामा अघि बढेको स्पष्ट पारे ।
सहसचिवहरु महेश्वर ढकाल, दीपा वली लगायत विषयगत समुहको नेतृत्व गरेकाहरुले आ आफ्नो विषयमा भएको वार्ताको प्रगतिका बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्