नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा शुरु


काठमाडाैँ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ । टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम मैना राखिएको छ ।

रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरुको विषयमा ग्राहकहरुलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए ।

उनले आज मैना रोबर्टको डेमो मात्रै शुरु गरिएको उल्लेख गरे । सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसावमा विभिन्न कार्यहरु शुरु गरेको पनि उनले उल्लेख गरे ।

उनले सोही लक्ष्यअनुरुप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा शुरु गरिएको बताए । रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको उनकाे भनाइ छ ।

उनले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरुबारे मैना रोबर्टलाई तालिम गराउने बताए । नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका बारेमा ग्राहकहरुले रोबर्टसँग जिज्ञासा राख्नसक्ने उल्लेख गरे ।

उनले सुन्धारा कार्यालयमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिने गरेको बताए । हरेक शनिवार पनि कार्यालय खुला हुने उनकाे भनाइ छ । उनका अनुसार सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने मानसिकतालाई हटाउने गरी काम गरिरहेको छ । शाखाले कात्तिक महिनाको उत्कृष्ट कर्मचारीमा कपिल लामिछानेलाई घोषणा गरेको छ ।