सूचना प्रविधि निर्यात क्षेत्रमा ‘कोडावतार’ टेक बन्यो उत्कृष्ट करदाता


काठमाडौँ । सरकारले कर दिवसको अवसरमा सर्वाधिक कर तिर्ने करदातालाई सम्मानमा गरेको छ । जसमा नेपालबाट सूचना प्रविधितर्फबाट कोडावतार टेक प्रालि सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ ।

गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्नेमध्य सूचना प्रविधितर्फ कोडावतार टेक प्रालिलाई उत्कृष्ट करदाता कम्पनीको रुपमा सम्मान गरिएको हो ।

सूचना प्रविधि निर्यात क्षेत्रका कम्पनीमध्ये गत आवमा सबैभन्दा बढी कर तिरेको भन्दै उक्त कम्पनिलाई अर्थमन्त्री विष्णु पौडेलले शनिवार कर दिवसको अवसरमा सम्मान गरेका हुन । पछिल्लो ५ वर्षदेखि सुचना प्रविधि नियार्त गर्दै आएको कोडावतार टेक प्रा.लि.का संस्थापक दिनेश सिलवालले उक्त सम्मान पाएका हुन ।

यस्तै गत आवमा सबैभन्दा बढी कर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी कर श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ ।

स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानीत भएका छन् ।

यस्तै वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ डाबर नेपाल, कृषि एवं पशुपन्छी क्षेत्रतर्फ पतञ्जलि आयुर्वेद, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनीतर्फ नविल बैंक लिमिटेडलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मान गरिएको छ ।

५० करोडदेखि एक अर्ब रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीतर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ ।