तलब तथा ज्याला सूचकाङ्कको आधार वर्ष परिवर्तन


काठमाडौँ । नेपाल राष्ट्र बैंकले तलब तथा ज्याला सूचकाङ्कको आधार वर्ष परिवर्तन गरेको छ । अर्थतन्त्रमा आएको संरचनात्मक परिवर्तनसँगै रोजगारीको स्वरूपमा आएको फेरबदललाई ध्यानमा राखेर सूचकाङ्क निर्माणमा प्रयोग हुने भाराङ्कलाई अद्यावधिक गर्न नयाँ आधार वर्ष परिवर्तन गरेको जनाउको छ ।

हालसम्म तलब तथा ज्यालादर सूचकाङ्कको आधार वर्ष २०६१/६२ रहेकोमा अद्यावधिक गरी २०८०/८१ कायम गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयले सम्पन्न गरेको ‘नेपाल लेबर फोर्स सर्भे २०१७/१८’ मा उपलब्ध नेपालस्तरीय औद्योगिक वर्गीकरण (नेपाल स्ट्याण्र्डड इन्ड्रष्ट्रियल क्लासिफिकेशन, एनएसआईसी) तथा नेपालस्तरीय पेसागत वर्गीकरण (नेपाल स्ट्याण्र्डड क्लासिफिकेसन अफ अकुपेसन, एनएससिओ) अनुसारको नतिजाको आधारमा भाराङ्क अद्यावधिक गरिएको छ ।

तलब तथा ज्याला छोटो अवधिमा परिवर्तन नहुने भएकोले मासिक रूपमा गणना हँुदै आएको तलब तथा ज्याला सूचकाङ्क त्रैमासिक रूपमा गणना गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ आधार वर्षमा आधारित सूचकाङ्क औद्योगिक वर्गीकरण, पेसागत वर्गीकरण र प्रदेशगत वर्गीकरण गरी तीन वटा ढाँचामा प्रकाशन गरेको छ ।

राष्ट्र बैंकका अनुसार नयाँ सूचकाङ्क गणना गर्दा सबै प्रदेशका ३० वटा जिल्लास्थित बजार क्षेत्रमा रहेका सबै औद्योगिक क्षेत्र तथा पेसा समावेश हुनेगरी १ हजार २५ वटा संस्थाबाट ५ हजार २९६ प्रकारका पद सँग सम्बन्धित तथ्याङ्क सङ्कलन गरी सूचकाङ्क निर्माण गरिएको छ ।

यसअघिको सूचकाङ्क गणना गर्दा ११ वटा बजार केन्द्रबाट तलबको हकमा छ प्रकारका संस्था (निजामती सेवा, सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्था, सेना तथा प्रहरी, शैक्षिक संस्था र निजी संस्थाहरू) तथा ज्यालादरको हकमा तीन प्रकारका औद्योगिक वर्गको ज्यालादर (कृषि, उत्पादन र निर्माण क्षेत्र) गरी नौ वटा समूहअन्तर्गत तथ्याङ्क सङ्कलन गर्ने गरिएको थियो ।