एयरलाइन्स कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन मन्त्री पाण्डेको निर्देशन


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।

बुधवार मन्त्रालयमा एयरलाईन्स कम्पनीका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री पाण्डेले बिहीवार दिउँसो ४ बजेभित्र भाडादर उपलब्ध गराउन निर्देशन दिएका हुन् । एयरलाइसका प्रतिनिधि र क्यानबिच भएको पाँच बुँदे सम्झौता झारो टार्ने काम गर्दै अचाक्ली भाडा लिएको भन्दै मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई सचेत गराए । उनले राज्य र नागरिककाप्रति एयरलाइन्सहरु दायित्वच्युत भएर झारो टार्ने काम गरिरहेको बताए ।

“नागरिकमाथि निकै ठूलो ज्यादति भयो, शोषण भयो । धुर्त व्यापारिको जस्तो काम एयरलाइन्सहरूले गर्न थाले भन्ने हामीलाई अनुभुति भएको छ । राज्यलाई घास हालेजस्तो काम गर्नुभएको रहेछ तपाईँहरूले। राज्य र नागरिककाप्रति एयरलाइन्सहरू दायित्वच्युत भएर झारो टारेको काम रहेछ । पछिल्लो समयमा कुनै पनि सुधारको काम देखिएन । विदेशका एयरलाइन्सहरूको व्यवस्थापन गर्ने भएकोले आफ्नो दानापानी पनि उतैबाट चल्ने जस्तो गैरजिम्मेवार प्रस्तुितबाट म निकै दुःखित भएको छु । भोलि चार बजेसम्म समिक्षा गरेर भाडादर उपलब्ध गराउनुहोला,” उनले भने ।

मन्त्री पाण्डेले रन वे र ट्याक्सी वेबीच कनेक्टिङ वे बनाउनुपर्ने भएको कारण १० घण्टा त्रिभूवन विमानस्थल बन्द गर्नुपरेको उनले स्पष्ट पारे ।