कृषि विकास रणनीति परिमार्जन हुँदै, पोषण सुरक्षाको विषय समेटिने


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले मन्त्रालयले कृषि विकास रणनीतिमा परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् । आज कृषि विकास रणनीति समीक्षा एवं पुनरावलोकनका लागि राष्ट्रियस्तरको अन्तर्क्रिया कार्यक्रममा बाेल्दै प्रवक्ता केसीले कृषि रणनीतिलाई परिमार्जन गर्दा तीन तहका सरकारहरूकै लागि उपयुक्त हुने खालकाे बनाउन कार्य भइरहेको जानकारी दिएका हुन् ।

उनले संविधानले स्थानीय तहलाई कृषि सेवा प्रवाहको अधिकार प्रदान गरेपछि त्यसलाई प्रभावकारी बनाउन, प्रदेश तहलाई प्रविधिक रूपमा सबल बनाउने र संघीय सरकारले के कस्ता भूमिकामा ध्यान दिने भन्ने विषयमा खाका तयार पार्न आवश्यक रहेको बताए।

प्रवक्ता केसीले जलवायु परिवर्तनले कृषि क्षेत्रलाई पारेको प्रभाव र बढ्दो रासायनिक मलको प्रयोगले दिगो उत्पादन प्रणालीमा चुनौती सिर्जना गरिरहेको उल्लेख गरे। “अबको कृषि विकास रणनीतिले यी समस्याहरूको समाधानको बाटो देखाउनुपर्ने छ,” उनले भने। साथै, युवाहरू कृषि पेशाबाट टाढा जाँदा देशभर बाँझो जमिनको अवस्था बढिरहेको र यसले कृषि क्षेत्रलाई थप संकटतर्फ धकेलिरहेको बताउँदै यस विषयलाई गम्भीर रूपमा लिइनुपर्ने धारणा व्यक्त गरे।

हालका दिनमा कृषि क्षेत्रमा प्रविधिको प्रयोग वृद्धि भएको र यसलाई सकारात्मक रूपमा लिँदै मन्त्रालयले खाद्य प्रणाली रूपान्तरणका दस्तावेज तयार पारेको पनि प्रवक्ता केसीले जानकारी दिए ।

सरकारले बजेटमा ‘कृषि लगानी दशक’ घोषणा गरेको सन्दर्भमा प्रवक्ता केसीले यसको सफल कार्यान्वयनका लागि आवश्यक लगानीको आकलन गर्ने काम भइरहेको बताए। परिमार्जित कृषि विकास रणनीतिले पोषण सुरक्षा, दिगो उत्पादन, र खाद्य प्रणाली रूपान्तरणका पहललाई समेट्दै समग्र कृषि क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गर्ने उनले विश्वास व्यक्त गरे।

२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरू बिच छलफल गरि सुझाव लिएको छ । सरकारका पूर्व सचिव गणेशराज जोशीको नेतृत्वमा १२ सदस्यीय विज्ञ टोलीले परिमार्जनका लागि काम गरिरहेको छ।