काठमाडौँ उपत्यकामा बजार अनुगमन, नियम उल्लंघन गर्ने व्यवसायहरूलाई कारबाहीको निर्देशन


काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजाे (मंसिर ५ गते) बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा बजार अनुगमन सम्पन्न गरेको छ। अनुगमनका क्रममा किराना पसल, फेन्सी पसल, खाद्य पदार्थ व्यापार, रेडिमेड कपडा पसल तथा होटल–रेस्टुरेन्टहरूमा नियमन गरिएको थियो।

लोकन्थली, बालकुमारी, ललितपुर, बागबजार, ठमेल, र नयाँबजार लगायतका स्थानहरूमा अनुगमन गर्दा व्यवसायहरूले आवश्यक कानुनी कागजात पेश नगरेको पाइयो। यसका कारण ती व्यवसायलाई आवश्यक कागजातसहित विभागमा हाजिर हुन निर्देशन दिइएको छ।

ललितपुरका केही खाद्य व्यवसायहरूले सामानहरूको उचित व्यवस्थापन नगरेको पाइएपछि सुधारका लागि थप निर्देशन दिइएको छ। त्यस्तै, ठमेल र नयाँबजारका व्यापारिक प्रतिष्ठानहरूले नियम उल्लंघन गरेको देखिएकोले कारबाही प्रक्रिया अघि बढाइएको छ।

विभागले उपभोक्ताहरूलाई गुणस्तरीय सेवा प्रदान गराउने उद्देश्यले यस्तो अभियानलाई निरन्तरता दिने जनाएको छ।उपभोक्ताहरूलाई सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिन र कुनै पनि समस्या वा गुनासो भएमा विभागलाई तुरुन्तै जानकारी गराउन आग्रह गरिएको छ।