नेपाल एयरलाइन्सले घटायो हवाई भाडादर


काठमाडाैँ । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानहरूकाे हवाई भाडादर घटाएको छ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएसँगै नेपाल एयरलाइन्सले हवाई भाडादर घटाएकाे हाे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८ नोभेम्बर २०२४ मा १० घण्टासम्म बन्द भएपछि उडान कटौती भई यात्रुको संख्यामा वृद्धि हुँदा हवाई भाडा महँगो भएको जनगुनासोलाई सम्बोधन गर्दै निगमले यस्तो कदम चालेको जनाएकाे छ ।

निगमका अनुसार, अन्तर्राष्ट्रिय उडानको भाडादर माग र आपूर्तिको सिद्धान्तअनुसार गत वर्षकै भाडादर दायराभित्र राखिएको छ। कालोबजारी गरी अत्यधिक मुनाफा लिने व्यक्तिहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी पनि निगमले दिएको छ।

विशेष छुटअन्तर्गत दिल्ली, मुम्बई र वैंगलोरका यात्रुका लागि रु. २५०० सम्म र दोहा, दुवई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका यात्रुका लागि रु ५००० सम्म छुट उपलब्ध गरिएकाे निगमले जनाएकाे छ ।

निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सर पीडित, उनका कुरुवा र सरकारी कर्मचारीका लागि पनि विशेष छुटको व्यवस्था गरेको छ। नोभेम्बर १ देखि २२ सम्मको अवधिमा ३७ जना क्यान्सर पीडित बिरामीलाई काठमाडौँ–दिल्ली–काठमाडौँ उडानमा १०० प्रतिशत छुट, ३३ जना कुरुवालाई ५० प्रतिशत छुट, र २१ जना सरकारी कर्मचारीलाई १५ प्रतिशत छुट दिइएको निगमले जानकारी दिएकाे छ ।