अजरबैजान । जलवायुजन्य मुद्दामा मिडियाको भुमिका र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइएको छ ।
मिडियाको स–शक्त भुमिकाले जलवायु न्यायमा सहज हुने कुरामा विज्ञहरुले जोड दिएका हुन् । बिहीवार अजरबैजानको बाकुमा आयोजित ‘नेपाली मिडिया र कोप २९ः जलवायु न्यायका लागि दिशा निर्देश’ विषयक अन्तरक्रियामा विज्ञहरुले जलवायुजन्य विषयमा मिडियाको प्रभाव विश्वव्यापी बनाउन आग्रह गरिएको छ ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. सिन्धुप्रसाद ढुंगानाले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा समन्वयात्मक ढङ्गले काम भइरहेको जानकारी दिइन् ।
“जलवायु परिवर्तनको मुद्दा सबैको हो भन्ने अनुभुति गराउने प्रयासमा छौँ,” ढुंगानाले भनिन्,”जलवायुको मुद्दा सवैको सरोकारको विषय भएकाले न्यायका लागि सबै सकारात्मक हुन जरुरी छ ।”
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले नेपालका जलवायु सम्बन्धि मुद्दा विश्वव्यापी गराउन मिडियालाई साझेदारका रुपमा अगाडि बढाउन आग्रह गरे ।”जलवायु न्याय समग्र नेपालको विषय हो, समस्याको विश्वव्यापीकरणका लागि मिडियाको विकल्प छैन’महाप्रवन्धक ऐरीले भने, “यो सवालमा राज्यले नै मिडियाको भुमिका प्रवद्र्धनमा ध्यान दिनु आवश्यक छ ।”
कार्यक्रममा न्युज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेलले पछिल्लो समय सञ्चारमाध्यमहरूले जलवायु परिवर्तनका मुद्दालाई विशेष रुपले उठाउने गरेको बताइन् । उनले सरकार र यस क्षेत्रका कार्यरत संघसंस्था सहित सञ्चारमाध्यमहरूसंग सहकार्य हुनसके जलवायु मुद्दा उठान अझ प्रभावकारी बन्ने बताइन् ।
कार्यक्रममा ओबिआइटी, डब्ल्युडब्ल्युएफ नेपालका नेशनल प्रोजेक्ट म्यानेजर राजन थापाले नागरिक र सरकारबीचको ग्याप मिडियाले निभाउनुपर्ने बताए ।उनले जलवायु परिवर्तनसम्बन्धी मुद्दाहरुबारे जनस्तरमा सचेतना फैल्याउनका लागि पनि मिडियाको भुमिका महत्वपूर्ण हुने बताए ।
सम्मेलनमा नेपाली सञ्चारमाध्यमलाई पनि प्रभावकारी बनाउने गरी नीति बनाउन जरुरी रहेकोमा सहभागीहरुले जोडदिएका छन् । कार्यक्रममा बाकुमा रहेका नेपाली प्रतिनिधि, सञ्चारकर्मी लगायत नेपालबाट विभिन्न क्षेत्रका युवाहरुको भर्चुअल सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्