राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्नु हुँदैनः विमलेन्द्र निधी


काठमाडाैँ । नेपाल काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधीले राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन् ।शुक्रवार जनकपुरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा नेता निधीले हतारमा सम्झौता गरेर पछुताउनु भन्दा विस्तृत रुपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका हुन् ।

उनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआई चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा के गर्छ भन्ने विषय चासोका साथ हेरिएको उल्लेख गरे । उनले नेपाली काँग्रेसले चीनबाट बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनैपनि विकासका कुराहरुमा अनुदान मात्रै लिने नीति अंगालेको बताए । बिआरआईअन्तर्गत ऋण लिन आफूहरुले नचाहेको बताए । उनले बिआरआई प्रोजेक्टमा व्यापक, विस्तृत रुपमा राष्ट्रियस्तरमा छलफल हुनु जरुरी रहेको उल्लेख गरे ।

नेता निधीले बिआरआई प्रोजेक्ट नेपालको हितमा छ वा छैन ? बिआरआई पोलिसीअन्तर्गत केके विषय हो भन्नेबारेमा व्यापक छलफल जरुरी रहेको बताए ।