जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायातको पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

जलवायुजन्य प्रकोपका कारण मुलुकका विभिन्न भागका सडक लगायतका भौतिक पूर्वाधारमा ठूल्ठूला क्षति भइरहेका बेला उनले सो आवश्यकता औंल्याएका हुन् । आइतवार काठमाडौँमा आयोजित यातायात पूर्वाधारसम्बन्धि प्राविधिक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री दाहालले यातायातको पूर्वाधार निर्माणमा मुलुकलाई विज्ञहरूको आवश्यकता रहेको पनि स्पष्ट पारे।

उनले वातावरणीय दृष्टिकोणबाट पनि अनुकुल हुनेगरी सडकलगायतका यातायात पूर्वाधार निर्माण गर्नका लागि सम्बन्धित क्षेत्रका विज्ञहरु हुनुपर्ने भएकाले सरकारले सोहीअनुसार अघि बढ्ने सोच बनाएको बताए ।

“इन्फास्ट्रक्चरमा इन्जिनियरिङ गरेका अथवा विज्ञता गरेकाहरूको हामीलाई आवश्यकता छ । र हाईड्रोलोजीमा विज्ञता गरेकाहरु पनि आवश्यक छ । र इन्भारोमेन्टल्ली पनि हामीले सोच्नुपर्नेछ । बाटाहरु बनाउने, सडक यातायातलाई व्यवस्थित गर्ने, यातायातका साधनहरूको सन्दर्भमा व्यवस्थित गर्ने इन्भारोमेन्टलाई मध्यनजर गरेर, क्लाईमेट चेन्जको ईस्युलाई पनि हामीले सम्बोधन गर्ने गरी सोच्नुपर्ने भएको छ,”उनले भने ।