सर्वसाधारण भन्छन्ः धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ


काठमाडाैँ । सरकारले सर्वसाधारणका लागि आजदेखि सःशुल्क रूपमा धरहरा खुला गरेसँगै मानिसहरूको भीड बढेको छ ।

परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा आजदेखि शुल्कसहित सञ्चालनमा आएपछि धरहरा चड्नेको भीड लागेको हो ।  सरकारले नेपाली सर्वसाधारणलाई २००, सार्क राष्ट्रका पर्यटकलाई ५०० र सार्क बाहेकका विदेशी पर्यटकहरूलाई १ हजार शुल्कसहित धरहरा खोलेको हो ।

धरहरा चढ्दा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने ५० प्रतिशत छुट पाउने छन् ।सरकारले धरहरा व्यवसायीक रूपमा संचालन गर्नु स्वागतयोग्य भएपनि चढ्न लाग्ने शुल्क बढी भएको अधिकांश सर्वसाधारणको गुनासो छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत दिएको भन्दै ज्येष्ठ नागरिक भने हर्षित भएका छन् । आईतवार न्युज एजेन्सी नेपालसँग धरहरा चढ्न पाउँदाको अनुभव सुनाउँदै कोभ्रकी विष्णुमाया गिरीले खुशी व्यक्त गरे ।

आयआर्जनका लागि सरकारसँग धेरै विकल्प रहेको बताउँदै उनले धरहरालाई व्यवसायका रूपमा चलाउन नहुने बताइन् । त्यस्तै नवलपुरकी सुनिता सापकोटाले सरकारले कम शुल्क तोकेको खण्डमा अझै धेरै सर्वसाधारण चढ्न पाउँने बताइन् । 

२०७२ सालको भूकम्पमा भत्केको धरहराभन्दा पुनर्निर्माण गरिएको धरहरा अझ व्यवस्थित रहेको सर्वसाधारणको अनुभव छ ।