काठमाडौँ । खुकुरी रमको निर्माता कम्पनी नेपाल डिस्टिलरिज (एनडीपीएल) ले कास्क सिरिज रमको आफ्नो पहिलो संस्करण सार्वजनिक गरेको छ । विशेष रम ५ हजार २०० वटा विशिष्ट संख्या अंकित बोतलमात्र उत्पादन भएको कम्पनीले बताएको छ ।
सिमित उत्पादन हुने रममध्ये १६०० बोतल मात्र स्वदेशी बजारमा उपलब्ध हुनेछन् भने बाँकी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिने छ। यो प्रिमियम रम नेपाली बजारमा १० हजार रुपैयाँमा निश्चित ग्राहकहरूलाई मात्र निजी च्यानल मार्फत् बिक्री गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कास्क रम बनाउने कला एक लगनशील यात्रा हो जसको सुरुवात हिमालको पानी र गुणस्तरीय उखुको मोलासेसको छनोटबाट सुरू हुन्छ। यी कच्चा पदार्थहरू जटिल प्रक्रियाहरू मार्फत् रूपान्तरण गरिन्छन् जसमा फर्मेन्टेसन, डिस्टिलेसन र सावधानीपूर्वक छानिएका कास्कहरूमा एजिंग गर्ने प्रक्रिया समावेश हुने कम्पनीकाे दाबी छ । यस विशेष संस्करणको केन्द्रमा रहेको कास्क एक काठको ब्यारेल हो जुन प्रिमियम मदिराहरूको एजिंगका लागि प्रयोग गरिन्छ। यी कास्कहरूले गहन एवम् सन्तुलित स्वादहरूको सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएकाे छ ।
स्मोक्ड फिनिस भएको कास्क शृङ्खलाको पहिलो संस्करणले गाढा र नवीन स्वाद प्रस्तुत गर्दछ। विशेष रूपमा चारिंग (भित्रबाट डढाएका) कास्कहरूमा गरिने अद्वितीय एजिंग प्रक्रियाले यसको परिष्कृत र गाढा स्वादहरूको सिर्जना गर्दछ। विशेषगरी यस संस्करणका लागि मात्र प्रयोग गरिएको चारिंग प्रविधिले सामान्यतया धुवाँको सुगन्ध प्रदान गरेर रमलाई पुरक प्राकृतिक स्वाद प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।
“रम परिपक्व हुनका लागि आवश्यक पर्ने उत्कृष्ट सामग्री र सबैभन्दा उपयुक्त वातावरण प्रदान गर्नका लागि नेपालको भौगोलिक अवस्थिति अद्वितीय छ र स्मोक्ड फिनिसमा काम गर्न पाउँदा हामीलाई एकदमै उत्साह जागेको छ। यो रमको निर्माण गर्नु भनेको स्वादको सिमाहरू धकेल्दै खुकरी रमको समृद्ध सम्पदालाई सम्मान गर्ने अवसर पनि हो”, सीईओ रमेश कृष्णनले भने।
प्रतिक्रिया दिनुहोस्