कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप संकलन गर्न र कर्जा प्रवाह गर्न रोक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ ।

संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकोले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्न शीघ्र सुधारात्मक कारबाही गरेको जनाएको छ ।

२०८१ साउन ६ गतेदेखि २०८१ साउन ११ गतेसम्म राष्ट्र बैंकले सम्पन्न लक्षित निरिक्षणको प्रतिवेदन अनुसार कर्णाली डेभलपमेन्ट बैंकको सुपरिवेक्षकिय समायोजन गर्दा राष्ट्र बैंकले तोके अनुसार पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले कार्बाही गरेको जनाएको छ ।

राष्ट्र बैंकले ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले वित्तीय परिसूचकहरुमा सुधार गर्ने सर्तमा मंगलबारदेखि लागू हुनेगरी थप निक्ष्ोप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको उल्लेख गरेको छ ।