काठमाडाैँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरुले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।
मंगलवार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित समारोमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरुका श्रीमान–श्रीमति र १८ वर्ष नकेटाका उनीहरुका छोराछोरीहरुका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए ।
उनले कोषमा सोमबारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आवद्ध भएको जानकारी गराउँदै आवद्ध हुने श्रमिकको संख्या निरन्तर वृद्धि भइरहेको बताए ।
कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको उनले उल्लेख गरे ।
उनले कोष कोषको दायरा बिस्तारका लागि कोषको केन्द्रिय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको समेत जानकारी दिए ।
यही आर्थिक वर्षभित्र कर्णाली प्रदशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको बताउँदै सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चि गर्ने उनको भनाइ छ ।
उनले कोषमा हालसम्म अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको संख्या ९० रहेको बताए । कोषका सम्पूर्ण सेवाहरुलाई अनलाइन प्रक्रियामा लैजाने प्रक्रिया अन्तिम चरणमा रहेको पनि उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्