मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाः नीतिगत व्यवस्था यथावत


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ ।

पहिलो त्रैमासमा राष्ट्र बैंकले नीतिगत व्यवस्थाहरु यथावत राखेको छ । राष्ट्र बैंकले नीतिगत दर ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दर ६.५ प्रतिशतमा यथावत राखेको छ ।

अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात पनि यथावत राखेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा अनुपात २०८० असोजमा ३.६६ प्रतिशत रहेकोमा २०८१ असोजमा ४.४२ प्रतिशत पुगेको छ । २०८१ असोजमा वाणिज्य बैंकको ४.२८ प्रतिशत, विकास बैंकको ४.३७ प्रतिशत र वित्त कम्पनीको १०.८४ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रयमासमा निक्षेप संकलन बोलकबोलमार्फत ५ खर्ब ९० अर्ब ५५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ७२ खर्ब ४२ अर्ब ८५ करोड रुपैयाँ गरी ७८ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधामार्फत ३ खर्ब ६३ अर्ब ४५ करोड रुपैयाँ तरलता प्रवाह गरेकोे थियो ।

राष्ट्र बैंकबाट विदेशी मुद्रा खरिदमार्फत १ खर्ब ९६ अर्ब ७९ करोड खुद तरलता प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कारोबारबाट १ खर्ब ६६ अर्ब ५४ करोड रुपैयाँ खुद तरलता प्रवाह भएको थियो ।