काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले विद्युत प्राधिकरणको कार्यालयमा मन्त्रीले कार्यकक्ष बनाएर बसेको भन्दै बिरोध जनाएको छ ।
बिहीवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टी केन्द्रिय कार्यालयको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको तर्फबाट बिरोध जनाएका हुन् । उनले विद्युत प्राधिकरणले लाइन काट्ने कुरा गर्दा मन्त्रीले कार्यकक्ष नै बनाएर बस्न उचित नरहेको बताए ।
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बुधवार प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाइ बसेका थिए । सोही विषयलाई लिएर माओवादी केन्द्रले बिरोध जनाएको हो । माओवादी केन्द्रले सरकारले विद्युत प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गरेको आरोप समेत लगाएको छ । यद्यपि विद्युत प्राधिकरणको अध्यक्ष भने उर्जामन्त्री रहने व्यवस्था छ । उनले सरकार विचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काममा लागेको आरोप लगाए ।
बैठकले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पालिका सम्मेलन र खबरदारी सभाको बारेमा छलफल गरेको प्रवक्ता सापकोटाले बताए ।
साथै बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल भएको उल्लेख गरे । उपचुनावले पार्टीको बारेमा राम्रो सन्देश प्रवाह गरेको माओवादी केन्द्रको निस्कर्ष रहेको छ । एक्लै उपनिर्वाचनमा जाँदा जनताले स्वीकारेको उनकाे भनाइ छ । उनले ०६४ पछि एकतावद्ध भएर जनतामा जाँदा जित सुनिश्चित भएको उल्लेख गरे ।
प्रवक्ता सापकोटाले समस्यामा परेका जनतालाई राहत मिल्नेगरी माओवादी अघि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस्