जनताको भरोसा र व्यक्त गरेको अभिमतलाई रक्षा गर्न नसकेको अध्यक्ष दाहालको स्वीकारोक्ति


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले पार्टीप्रति गरेको भरोसा र व्यक्त गरेको अभिमतलाई रक्षा गर्न नसक्दा कार्यकर्ता र कर्मचारीहरुमा असन्तुष्टि बढ्दै गएको स्वीकार गरेका छन्।

सोमवार नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । जनताको विश्वासअनुसार पार्टीलाई एकतावद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नसकेको कारण जनता र कार्यकर्तामा असन्तुष्टि बढेको बताए । उनले माओवादी घटकहरु समय समयमा विभाजित भएको उल्लेख गर्दै विभाजनका घाउहरु बल्झिँदै गएको बताए ।

माओवादी केन्द्रले आफ्ना एजेण्डाहरुमा निरन्तरता दिन नसक्दा पार्टीप्रतिको जनताको एकता, निष्ठा र लगाव कमजोर हुँदै गइरहेको उनको भनाइ छ । उनले राम्रा काम गर्न खोज्दाखोज्दै पनि गर्न नसकिएको कारण माओवादी केन्द्र आत्मसमिक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताए । 

“हामीले २०६४ सालको निर्वाचनमा जनताले हामीप्रति गरेको अपार भरोसा र व्यक्त गरको अभिमतलाई रक्षा गर्न सकेनौं । हामी जनताको त्यो विश्वासअनुसार पार्टीलाई एकतावद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि जान सकेनौं । विविध कारणले हामी विभाजित भयौं । र त्यो विभाजनको परिणामा आम कार्यकर्ता र कर्मचारीतन्त्र भित्र पनि कहीँ न कहीँ निराशा र असन्तुष्टिहरु बढ्दै गए । विभाजनका घाउहरु बल्झिँदै पनि गए । यसबीच हामीले राम्रो गर्न खोज्दाखोज्दै पनि हामी आत्मसमिक्षा गर्नुपर्ने ठाउँमा पुगेकै छौं,”उनले भने ।

काम गर्दै जाँदा केही कमजोरी भएपनि गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण थालनी गरेको उनको दाबी छ ।